न्युजर्सीमा पुनः बाढीले लियाे दुईको ज्यान, महिनाभित्र दोस्रोपटक त्रासदी
- ३२ असार २०८२
- २ मिनेटको पढाई
न्युयोर्क – अमेरिकाको न्युजर्सी राज्यस्थित प्लेनफिल्डमा सोमबार साँझ आएको तीव्र बर्षाले फेरि दुःखद घटना निम्त्याएको छ। भारी वर्षातले सडकमै बगाएको एक सवारीसाधनमा सवार दुई महिलाको मृत्यु भएको पुष्टि अधिकारीहरूले मंगलबार गरेका छन्।
स्टील एभिन्युबाट सिधै बगेर सिडर ब्रुकमा पुगेको उक्त सवारीमा रहेका दुवै महिलाको घटनास्थलमै ज्यान गएको हो। उनीहरूको परिचय परिवारलाई जानकारी नदिइएसम्म गोप्य राखिएको छ। यस घटनासँगै यसै महिनाको सुरूमा रूख ढलेर ज्यान गुमाएका तीनजनासहित प्लेनफिल्ड क्षेत्रमै चार जनाको ज्यान गइसकेको छ।
प्लेनफिल्डका मेयर एड्रियन ओ. म्यापले घटनालाई “अकल्पनीय” भन्दै दुःख व्यक्त गरेका छन्। “एउटै समुदायबाट यति छिटो अवधिमा चारजनाको ज्यान जानु अत्यन्त दुःखद हो। हामी परिवारहरूसँग शोकमा छौं,” उनले भने।
सोमबार राति ११:३० बजे नर्थ प्लेनफिल्डको पार्कभ्यू एभिन्युस्थित एक घरमा बाढीका कारण विस्फोट भई आगलागी भएको थियो। त्यसबेला घरमा कोही थिएन, र परिवारका सदस्यहरू पहिल्यै सुरक्षित स्थानतर्फ सरिसकेका थिए।
राज्यका गभर्नर फिल मर्फीले मंगलवार बर्कली हाइट्स लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्दै आपतकाल घोषणा गरेका थिए। “हामी हाल उच्च आर्द्रता, उच्च तापक्रम र उच्च वर्षाका चक्रमा छौं। सबैले सतर्क रहनुपर्छ,” उनले भने।
परिवहन सेवा समेत अस्तव्यस्त बनेको छ। न्युयोर्क सहरको सबवे प्रणालीका कतिपय लाइनहरू अवरुद्ध भए भने अन्य सेवाहरूमा गम्भीर ढिलाइ भएको थियो। सामाजिक सञ्जालमा देखिएको भिडियोमा म्यानह्याटनको एक सबवे स्टेशनमा पानी प्ल्याटफर्मसम्म भरिएको देखिन्छ।
वेस्टचेस्टर काउन्टीमा जलमग्न गाडीभित्र फसेका मानिसहरूलाई उद्दार गर्न अधिकारीहरू खटिएका छन्। स्टाटन आइल्याण्डमा ४ देखि ६ इन्चसम्म वर्षा मापन गरिएको छ।
सहरले अहिले प्रत्येक वर्ष झन्डै १ अर्ब डलर बाढी व्यवस्थापनमा खर्च गर्दै आएको छ। तर ८० भन्दा बढी बाढीग्रस्त क्षेत्रका नाली प्रणाली सुधार गर्न ३० अर्ब डलरको आवश्यकता पर्ने आँकलन गरिएको छ।
यसै वर्षा प्रणालीले २०२१ को हुरिकेन इडापछिको दोस्रो उच्च वर्षा दर मध्यपार्कमा रेकर्ड गराएको अधिकारीहरूले जनाएका छन्।