मुनाफा कमाउने घरायसी पार्टीहरू अब महँगो पर्नेछन्, मोंटगोमरी काउन्टीमा नयाँ कानुन लागू
- ३२ असार २०८२
- १ मिनेटको पढाई
म्यारिल्यान्ड- म्यारिल्यान्डको मोंटगोमरी काउन्टीले निजी घरहरूमा हुने लाभका लागि आयोजना गरिने ठूलो पार्टीहरू नियन्त्रणमा लिन आपतकालीन कानुनमार्फत जरिवाना उल्लेख्य रूपमा बढाएको छ।
गत वर्ष पोटोम्याकस्थित एउटा भाडाको हवेलिमा आयोजना गरिएको “वेट ड्रीम्स म्यान्सन पुल पार्टी” पछि समुदायमा आएको अशान्तिपछि जनगुनासो बढेपछि काउन्टीले कडा कदम चालेको हो।
सामाजिक सञ्जालमार्फत प्रचार गरिने यस्ता पार्टीहरूमा हजारौं सहभागी भेला हुने, टिकट र पेय पदार्थ बिक्रीबाट आयोजकले हजारौं डलर कमाउने गरेका छन्। तर छिमेकीहरूका अनुसार यस्ता पार्टीहरूले स्थानीय जीवन अस्तव्यस्त बनाइदिन्छन्।
त्यो पार्टीबारे स्थानीय बासिन्दा जोन क्याम्प र मिन्डी फार्बरले बताए, “बाहिर बसहरूमा मान्छे ओसारिए, घाँसमै गाडी पार्क गरियो, अनि भित्तै हल्लिनेगरी ठूलो आवाजमा बेसुरको संगीत बज्यो।”
यसपटक काउन्टी काउन्सिलले सर्वसम्मतिले पारित गरेको नयाँ कानुनअनुसार अब यस्ता व्यावसायिक पार्टी आयोजना गर्नेहरूलाई $५,००० जरिवाना हुनेछ, र आवाजजस्ता अन्य कोड उल्लंघनमा थप $१५,००० सम्म जरिवाना लाग्न सक्छ।
काउन्सिल सदस्य डन ल्युट्केले भनिन्, “पहिला त जरिवाना हास्यास्पद मात्र $२५ थियो, जसले रोक्न सक्दैनथ्यो। जब पार्टीबाट हजारौं कमाइ हुन्छ, त्यति सानो जरिवाना कुनै अर्थ राख्दैन।”
तर, उनले स्पष्ट पारिन् कि, “यो कानुन आफ्नै बगैँचामा विवाह वा व्यक्तिगत कार्यक्रम आयोजना गर्नेहरूका लागि होइन।”
क्याम्प र फार्बरले नयाँ कानुनबाट यो गर्मीको मौसम शान्तपूर्ण हुनेमा खुसी व्यक्त गरे।
“एक वर्ष लाग्यो, तर अन्ततः कानुन आयो। अब काउन्टीसँग यस्ता पार्टी रोक्ने शक्ति छ,” क्याम्पले भने।
नयाँ कानुन तत्काल प्रभावकारी भएको छ। काउन्टीले आशा लिएको छ कि अब यस्ता अवाञ्छित र व्यावसायिक उद्देश्यका पार्टीहरू नियन्त्रणमा रहनेछन्।