२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्यूजर्सीमा चट्याङ लागेर एकको मृत्यु, दर्जनभन्दा बढी घाइते

न्यूजर्सीमा चट्याङ लागेर एकको मृत्यु, दर्जनभन्दा बढी घाइते

न्युयोर्क- न्यूजर्सीमा आएको भीषण आँधीसहितको मौसमका बीच, एक आउटडोर आर्चरी रेंजमा परेको चट्याङले एक व्यक्तिको ज्यान लिएको छ भने १३ जना भन्दा बढी घाइते भएका छन्।

बुधवार बेलुका झन्डै ७ बजेतिर ज्याक्सन टाउनसिपको पेरिनभिल रोडस्थित ‘ब्ल्याक नाइट बो बेन्डर्स’ नामक आर्चरी रेंजमा चट्याङ खसेको हो।

ज्याक्सन टाउनसिप प्रहरीका अनुसार, ६१ वर्षीय एक पुरुषको घटनास्थलमै ज्यान गएको छ। घाइतेमध्ये कसैको शरीर जलेको छ भने केहीले असजिलो महसुस गरिरहेका थिए। एक बालकसहित सबै घाइतेहरूलाई नजिकको अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

घटनास्थलमा सात वर्षदेखि ६० वर्षसम्मका मानिसहरू थिए। एक व्यक्तिको होस गएको थियो तर केहीबेरमै फर्किएको थियो।

उक्त बेला त्यहाँ शक्तिशाली आँधीसहित ठूलो वर्षा भइरहेको थियो। त्यस क्षेत्रलाई केहीबेर अघि नै *सिभियर थन्डरस्टर्म वॉर्निङ* जारी गरिएको थियो।

न्यूजर्सीका गभर्नर फिल मरफीले सामाजिक सञ्जालमा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् र “यो दुखद घटनामा संलग्न सबैका लागि प्रार्थना गरौं” भनेका छन्।

आर्चरी रेंजमा फोन गर्दा एक जनाले छोटो प्रतिक्रिया दिँदै भने, “यहाँ धेरै आपतकालीन सुरक्षाकर्मीहरू छन्, अहिले बोल्न सकिँदैन।”

केही दिनअघि मात्र नर्थ न्यूजर्सीको हार्डिस्टनमा गल्फ खेलिरहेका २८ वर्षीय युवकलाई चट्याङले लागेको थियो। ती युवकको केही दिनपछि मृत्यु भएको थियो।

यो घटनासहित सन् २०२५ मा अमेरिकाभित्र चट्याङले लागेर मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।