लस एञ्जलस — लस एञ्जलस काउन्टी शेरिफ विभागका तीन अनुभवी उपप्रहरीको शुक्रबार बिहान विष्फोटक पदार्थ परीक्षणका क्रममा ज्यान गएको छ। उनीहरू सबै विस्फोटक तथा आगलागी अनुसन्धान विशेषज्ञ थिए।
शेरिफ विभागले जानकारी दिएअनुसार, गत राति लेकवुड क्षेत्रबाट दुई थान सैनिक शैलीका विष्फोटक पदार्थहरू संकलन गरी पूर्वी लस एञ्जलसस्थित तालिम केन्द्रमा ल्याइएको थियो। तीमध्ये एक विष्फोटक पदार्थ अनायास विस्फोट हुँदा तीन उपप्रहरीको घटनास्थलमै मृत्यु भएको हो।
मृतकहरू डिटेक्टिभ जोशुवा केली-एकलण्ड, भिक्टर लेमस र विलियम ओस्बोर्न रहेको शेरिफ रोबर्ट लुनाले पुष्टि गरे। तीनै जना ‘स्पेसियल इन्फोर्समेन्ट ब्यूरो’ अन्तर्गतको ‘आर्सन एण्ड एक्स्प्लोसिभ डिटेल’ मा कार्यरत थिए र संयुक्त रूपमा उनीहरूको सेवा अनुभव ७४ वर्षको थियो।
“यो १८५७ यताकै विभागको इतिहासमा सबैभन्दा ठूलो मानवीय क्षति भएको दिन हो,” शेरिफ लुनाले भावुक हुँदै भने। “यी तीन जना हाम्रो विभागका सबैभन्दा दक्ष र प्रतिबद्ध सदस्य थिए।”
घटनास्थल पूर्वी लस एञ्जलसको १००० नर्थ ईस्टर्न एभेन्यु नजिकैको ‘यूजिन बिस्कालुज’ तालिम केन्द्र हो, जहाँ बिहान ७:२७ बजे विष्फोट भएको थियो। विष्फोटको कारणबारे अनुसन्धान प्रारम्भिक चरणमै रहेको बताइएको छ।
घटनाको अनुसन्धानमा एफबीआई र अल्कोहोल, ट्याबाको, फायरआर्म्स एण्ड एक्स्प्लोसिभ्स ब्यूरो (ATF) को *नेशनल रेस्पोन्स टीम* पनि संलग्न रहेको छ।
लस एञ्जलसका मेयर करेन बासले विज्ञप्तिमा भनिन्, “यो विष्फोटबाट प्रभावित सबैप्रति हाम्रो संवेदना छ।” क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घटनालाई “क्यालिफोर्नियाका लागि हृदयविदारक दिन” भनेका छन्।
शेरिफ विभागका डिपुटी जेसन जबाला, जसले मृतकहरूलाई दुई दशकदेखि चिन्दै आएका थिए, भन्छन्, “म झस्किएको थिएँ। पत्नीलाई ‘म अफिस जानुपर्छ’ भनिरहँदा म भतभती रोएँ।”
यस विष्फोटलाई दक्षिण क्यालिफोर्नियाको चार दशक यताकै सबैभन्दा घातक प्रहरीसम्बन्धी विस्फोट मानिएको छ।
लस एञ्जलस काउन्टी शेरिफ विभाग अमेरिकाकै सबैभन्दा ठूलो स्थानीय शेरिफ एजेन्सी हो, जसले अदालत, जेल, असंलग्न बस्तीहरूमा गस्ती, र ठूला सहरहरूसँग सम्झौता गरेर प्रहरी सेवा दिन्छ।
शोकमा डुबेको विभागले भनेको छ, “यस कठिन समयमा हामी एक आपसमा मजबुत भएर उभिनुपर्नेछ, र यो अपूरणीय क्षतिलाई सम्मानपूर्वक सम्झनु हाम्रो कर्तव्य हो।”