छोरीलाई बलात्कार गरी गर्भवती बनाउने आप्रवासीलाई १५ वर्ष जेल
- ०३ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क — अमेरिकाको म्यासाचुसेट्सस्थित सरकारी आप्रवासी शरणस्थलमा १४ वर्षीया आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरी गर्भवती बनाउने एक हैटी आप्रवासी रोनाल्ड जोसेफलाई अदालतले १२ देखि १५ वर्षसम्मको जेल सजाय सुनाएको छ।
४४ वर्षीय जोसेफलाई गत जनवरी ३१ मा ‘बालिकामाथि गम्भीर बलात्कार’ अभियोगमा पक्राउ गरिएको थियो। मिडलसेक्स जिल्ला अदालतका न्यायाधीश केनेथ सालिन्जरले जुलाई ११ मा सजाय सुनाएका हुन्।
छोरी गर्भवती भएपछि गरिएको चिकित्सा परीक्षणले जोसेफ नै गर्भको बच्चाको जैविक पिता भएको पुष्टि भएको हो। डीएनए परीक्षणले बच्चा, आमाबुबाबीचको नाता २३ ट्रिलियन गुणा बढी सम्भावना सहित प्रमाणित भएको जिल्ला अभियोजन कार्यालयले जनाएको छ।
जोसेफले अपराध लुकाउन प्रयास गर्दा शरणस्थलका तत्कालीन प्रमुख जोन फेथरस्टनमाथि आक्रोश व्यक्त गर्दै हातपात गरेका थिए। घटना खुल्नासाथ पनि उनलाई तत्काल पक्राउ नगरी अर्को शरणस्थलमा पठाइएको थियो, जुन व्यवस्थापनमाथि थप प्रश्न उठेको छ।
अमेरिकी आव्रजन निकाय ICE ले जोसेफमाथि देशनिकाला प्रक्रिया अघि बढाइसकेको बताइएको छ। उनी २०२३ को मे महिनामा वैध कागजातबिना अमेरिका प्रवेश गरेका थिए।
अमेरिकाका शरणस्थलहरूमा यस्ता आपराधिक गतिविधि बढ्दै गएको भन्दै आलोचना चुलिएको छ। फेथरस्टनले राज्यको आप्रवासी व्यवस्थापन प्रणालीलाई ‘असफल र खतरनाक’ भन्दै आरोप लगाएका छन्।
यसअघि पनि डोमिनिकन आप्रवासीले बन्दुक, लागुऔषध तथा एक मिलियन डलरभन्दा बढीको फेन्टानिल राखेको आरोपमा शरणस्थलबाटै पक्राउ परेका थिए।
राज्यका गभर्नर माउरा हीलीले राज्यका सबै शरणस्थल बन्द गर्ने घोषणा गरेकी छिन्। तर आलोचकहरूले यो निर्णय ‘राजनीतिक दिखावटी मात्र’ भएको बताएका छन्।