‘मिडिया लिडर अफ द इयर’ अवार्डबाट मनोज बस्नेत सम्मानित हुने
- ०३ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क — नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका अन्नपूर्ण मिडिया नेटवर्क–नेपालका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाको प्रतिष्ठित संस्था BiStreams LLC | AMN-USA ले ‘मिडिया लिडर अफ द इयर’अवार्ड प्रदान गर्ने घोषणा गरेको छ।
BiStreams का अध्यक्ष एड्रियन पोखरेलका अनुसार बस्नेतलाई एक विशेष समारोहका बीच उक्त सम्मान प्रदान गरिनेछ। सत्य, निष्ठा र रचनात्मक पत्रकारिताका अग्रणी बस्नेतले नेपाली सञ्चार क्षेत्रमै होइन, अन्तर्राष्ट्रिय मिडिया नेतृत्वमा समेत अनुकरणीय मापदण्ड कायम गरेको संस्थाले जनाएको छ।
अध्यक्ष पोखरेलले भने, “मनोज बस्नेतले पत्रकारितामा सत्य, नवीनता र जन–सेवाको मूल मर्मलाई आत्मसात गर्दै नयाँ पुस्तालाई नेतृत्वदायी दृष्टिकोण दिएका छन्। उनी नेपाली पत्रकारिताका लागि मात्र होइन, विश्व पत्रकारिताका लागि पनि प्रेरणास्रोत हुन्।”
उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्क प्रेस स्वतन्त्रताको पहरेदार, उत्पीडित आवाजहरूको प्रतिनिधि र नयाँ पुस्ताका पत्रकारहरूको प्रेरणाको केन्द्रका रूपमा स्थापित भएको संस्थाको भनाइ छ।
बस्नेतले गरेको सत्यनिष्ठ पत्रकारिता, गहन अनुसन्धान र निर्भीक निर्णयहरूले हजारौँ पाठक तथा दर्शकहरूलाई जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरेको अध्यक्ष पोखरेलको भनाइ छ।
“गाह्रो र चुनौतीपूर्ण परिस्थितिमा पनि सत्यको पक्षमा दृढतापूर्वक उभिने, आशा जगाउने र नेतृत्वमा मानवीय दृष्टिकोण प्रस्तुत गर्ने गुणले उहाँलाई यो सम्मानको लागि योग्य बनाएको हो,” पोखरेलले उल्लेख गरेका छन्।
Bi-Streams LLC र AMN-USA ले सार्वजनिक गरेको सन्देशमा भनिएको छ, “मनोज, तपाईंको नेतृत्व, सत्यप्रतिको अडान र दूरदर्शितापूर्ण सोचप्रति हामी गहिरो सम्मान व्यक्त गर्छौं। तपाईंले देखाएको मार्गले आजका मात्र होइन, भोलिका पत्रकारहरूलाई समेत प्रेरणा दिनेछ।”
“तपाईंको योगदानले हामीमा आशा, सिर्जनशीलता र साहसको उज्यालो फैलाएको छ। अब तपाईंको यो यात्रा अझ प्रवल र प्रखर बनोस हाम्रो हार्दिक शुभकामना छ।”
सम्बन्धित सम्मानको औपचारिक घोषणा भने BiStreams को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो।