न्युयोर्क- अमेरिका भ्रमण गर्न चाहने पर्यटकहरूका लागि अब एउटा नयाँ नियम लागू हुने भएको छ। हालै पारित ट्रम्प प्रशासनको “One Big Beautiful Bill Act” अन्तर्गत विदेशी आगन्तुकले अब “Visa Integrity Fee” नामक नयाँ शुल्क तिर्नुपर्नेछ।
– यो शुल्क कति हो?
यो शुल्क २०२५ अमेरिकी आर्थिक वर्ष (अक्टोबर १, २०२४ – सेप्टेम्बर ३०, २०२५) का लागि कम्तीमा $२५० तोकिएको छ। तर गृह सुरक्षा सचिव (Secretary of Homeland Security) ले यो भन्दा बढी पनि निर्धारण गर्न सक्नेछन्।
यसपछि यो शुल्क मुद्रास्फीतिअनुसार समायोजन गरिनेछ।
– कसले तिर्नुपर्छ?
यो शुल्क सबै गैर-आप्रवासी भिसा (nonimmigrant visa) का लागि अनिवार्य छ।
यसमा निम्न वर्ग समावेश हुन्छन्:
-पर्यटक (B-2 भिसा)
– व्यापारिक भ्रमणकर्ताहरू (B-1 भिसा)
– अन्तर्राष्ट्रिय विद्यार्थी (F, J, M आदि)
– शुल्क कहिले तिर्नुपर्छ?
यो शुल्क भिसा जारी हुँदा तिर्नुपर्छ। यदि कसैको भिसा आवेदन अस्वीकृत भयो भने शुल्क लाग्दैन।
यो शुल्क अन्य भिसा शुल्कहरूको थप रूपमा लिइन्छ।
उदाहरणका लागि:
– H-1B कामदारले पहिले नै $205 भिसा आवेदन शुल्क तिर्नुपर्छ। अब उनीहरूले कुल $455 तिर्नुपर्नेछ।
त्यस्तै, Form I-94 सम्बन्धी शुल्क पनि $6 बाट बढाएर $24 बनाइएको छ, जुन प्रायः सबै आगन्तुकले तिर्नुपर्ने हुन्छ।
– पैसा फिर्ता कसरी पाइन्छ?
यदि तपाईंले भिसाको सबै सर्तहरू पूरा गर्नु भयो भने, यो शुल्क फिर्ता पाउन सकिनेछ।
त्यसका लागि:
-अनधिकृत रूपमा काम नगर्नुहोस्
– भिसाको म्याद समाप्त भएपछि ५ दिनभन्दा बढी अमेरिकामा नबस्नुहोस्
फिर्ती भिसाको अवधि सकिएपछि मात्र हुनेछ।
तर प्राविधिक कारणले फिर्ती प्रक्रिया ढिलो सुरु हुने अनुमान गरिएको छ।
CBO (Congressional Budget Office) ले केही वर्ष लाग्ने र कम मानिसले मात्रै फिर्ती माग गर्ने अनुमान गरेको छ।
अहिलेसम्म याे नियम लागू गरिएको छैन। शुल्क संकलन कहिले र कसरी सुरु गरिने भन्ने अझै स्पष्ट छैन।
DHS (Department of Homeland Security) ले यो शुल्क लिनु पर्ने भए तापनि भिसा प्रक्रियाको सम्पूर्ण नियन्त्रण उनीहरूसँग छैन, जसले गर्दा अझै कार्यान्वयनको प्रक्रिया अन्योलमा रहेको छ।
– यसको उद्देश्य के हो?
सरकारका अनुसार, यो शुल्कले अमेरिकाको आप्रवासन प्रणालीमा इमानदारी कायम राख्न मद्दत गर्नेछ।
डाटाका आधारमा:
– २०१६–२०२२ बीच १%–२% मात्र गैर-आप्रवासी भिसा राख्नेहरू ओभरस्टे (overstay) गरेका थिए।
– तर अमेरिका भित्र रहेका करिब १.१ करोड अवैध आप्रवासीमध्ये ४२% कानुनी भिसासहित अमेरिका भित्रिएको तर म्याद सकिएपछि फर्किन नसकेको बताइएको छ।
– भ्रमणकर्ताहरूमा यसको प्रभाव
विशेष गरी पर्यटक (B-2) र विद्यार्थी भिसा (F-1) लिनेहरूमा यसको असर बढी पर्ने अनुमान गरिएको छ।
“$२५० अतिरिक्त शुल्कले धेरैलाई अमेरिका भ्रमणमा दोहोर्याउन हिचकिचाहट गराउन सक्छ,” एक आप्रवासन वकिलले बताएका छन्।
– सन् २०२६ को तयारीमा असर
संयुक्त राज्य अमेरिका सन् २०२६ मा आफ्नो २५०औं वार्षिकोत्सव (America 250) र FIFA विश्वकपजस्ता ठूला कार्यक्रमहरू आयोजना गर्दैछ। त्यसको पूर्वसन्ध्यामा यो शुल्क, अनि Brand USA जस्तो प्रमोशन संस्थाको बजेट कटौती, अमेरिका भ्रमणमा थप अवरोध बन्ने देखिन्छ।
– नयाँ शुल्क अमेरिकी भिसा प्रक्रियामा ठूलो परिवर्तन हो।
– हालसम्म कार्यान्वयन मिति स्पष्ट छैन।
– भिसा लिने सोच बनाउनेहरूले अब थप खर्चको योजना गर्नुपर्नेछ।
– शुल्क फिर्ता पाइने सम्भावना भए पनि नपाउने मानिएर योजना बनाउनु उचित हुनेछ।
यदि तपाईं अमेरिका भ्रमण वा अध्ययनको तयारी गर्दै हुनुहुन्छ भने, भिसा प्रक्रियामा नयाँ अपडेटहरूमा नजर राख्नु अत्यन्त आवश्यक छ।