२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्यूयोर्कको पार्कमा अफ-ड्युटी सीमा सुरक्षाकर्मीमाथि गोली प्रहार, एक व्यक्ति नियन्त्रणमा

न्यूयोर्कको पार्कमा अफ-ड्युटी सीमा सुरक्षाकर्मीमाथि गोली प्रहार, एक व्यक्ति नियन्त्रणमा

न्यूयोर्क — न्यूयोर्कको वाशिंगटन हाइट्सस्थित एक पार्कमा शनिबार राति एक अफ-ड्युटी अमेरिकी सीमा सुरक्षा अधिकारीमाथि गोली प्रहार भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार एक युवालाई नियन्त्रणमा लिएको छ।

न्यूयोर्क सिटी प्रहरी विभाग (NYPD) का अनुसार, ४२ वर्षीय सीमा तथा भन्सार सुरक्षाकर्मी पार्कमा बसेको अवस्थामा एक मपेडमा आएका दुईमध्ये पछाडि बसेको व्यक्तिले मुख र हातमा गोली हानेका थिए। आक्रमणपछि दुबै जना मपेडमा भागेका थिए।

घटनाबारे जानकारी दिँदै NYPD कमिश्नर जेसिका टिसले आइतबार पत्रकार सम्मेलनमा भनिन्, “अधिकारीले आफू लुटिन लागेको महसुस गरेपछि आत्मरक्षाका लागि हतियार निकाले। तर आक्रमणकारीले पहिले गोली चलाए, त्यसपछि दुवैपक्षबीच गोली हानाहान भयो।”

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको भिडियोमा आक्रमणमा संलग्न दुई जना मपेडमा सवार देखिन्छन्। विभागले तीमध्ये एक जना अवैध रूपमा अमेरिका प्रवेश गरेको दाबी गरे पनि NYPD ले उक्त दाबीबारे पुष्टि गर्न सकेको छैन।

प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति भनेर २१ वर्षीय मिगुएल मोरालाई पहिचान गरेको छ। मोरा आइतबार अस्पतालमा गोली लागेका घाउ (groin र खुट्टा) लिएर पुगेपछि प्रहरीको निगरानीमा छन्। उनीमाथि पहिलेका घरेलु हिंसा, डकैती र छुरा प्रहार घटनामा वारेन्ट जारी गरिएको NYPD ले जनाएको छ।

घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, उक्त हमला डेमोक्र्याट नेतृत्वको सीमासुरक्षामा कमजोरी भएको आरोप लगाए। उनले लेखेका छन्, “घाइते अवस्थामा पनि सीबीपी अधिकारीले साहसका साथ आक्रमणकारीको प्रतिकार गरे।”

घाइते सुरक्षाकर्मीको अहिले अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था स्थिर रहेको बताइएको छ। घटनाको थप अनुसन्धान जारी छ।