वाशिंगटन राज्यमा दमकल चोरको ताण्डव : धेरै सवारी साधन क्षतिग्रस्त, चालक फरार
- ०५ साउन २०८२
- २ मिनेटको पढाई
वाशिंगटन- वाशिंगटन राज्यको एभरेट शहरमा शुक्रबार राति एक व्यक्तिले दमकल चोरेपछि तीव्र गतिमा सवारी चलाउँदै कम्तीमा दसवटा सवारी साधन क्षतिग्रस्त बनाएर फरार भएका छन्। प्रहरीले उक्त घटनामा संलग्न चालकको खोजी गरिरहेको जनाएको छ।
एभरेट दमकल विभागका अनुसार, घटनास्थल सिएटल शहरको करिब ३० माइल उत्तरतर्फ पर्ने होयट एभिन्यूको २९०० ब्लकमा रहेको एउटा अपार्टमेन्टको पाँचौं तलामा स्वास्थ्य आपतकालीन सेवा दिइरहेको बेला दमकल चोरी भएको थियो।
“शंकास्पद व्यक्ति दमकल लिएर तीव्र गतिमा एभरेटका आवासीय सडक हुँदै गुड्दा पाँच स्थानमा धेरै पार्किङ गरिएका सवारी र बोटबिरुवामा क्षति पु¥याउँदै भाग्यो,” दमकल विभागले शनिबार फेसबुकमार्फत जनायो।
राति ११ बजेपछि प्राप्त पहिलो ९११ कलले पार्किङ गरिएका दुईवटा गाडीलाई तीव्र गतिमा ठक्कर दिँदै भागेको दमकलको खबर दिएको थियो। केही समयपछि अर्को कलले ए म्यारिन भ्यु ड्राइभको १००० ब्लकमा एकै पटक १० वटा सवारीलाई ठक्कर दिएको पुष्टि गर्यो।
कुल छवटा स्थानमा गाडी, रुख, सडक चिन्ह र घाँसमा क्षति पुगेको पुष्टि गरिएको छ। यद्यपि, कुनै पनि स्थानमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
चोरी गरिएको दमकल सन् २०१८ मा निर्मित “पियर्स इनफोर्सर पम्पर” मोडेलको थियो, जसको तौल झण्डै ३५,००० पाउण्ड रहेको छ। दमकल आफैंमा ठूलो र भारी सवारी भएकाले तीव्र गतिमा चलाउँदा अत्यधिक क्षति भएको हो। दमकल अहिले घटनाको प्रमाणको रूपमा नियन्त्रणमा लिइएको छ।
एभरेटका प्रहरी प्रमुख जोन डेरुसले यस घटनाले केवल उद्धारकर्ताको सुरक्षामा मात्र होइन, समग्र समुदायको सुरक्षामा समेत गम्भीर खतरा उत्पन्न गराएको बताए। “यस्तो लापरवाह कार्यको दोषीलाई जवाफदेही बनाउन हामी प्रतिबद्ध छौं,” उनले भने।
दमकल प्रमुख डेभ डेमार्कोले भने, “यस्तो घटना दोहोरिन नदिन हामी आवश्यक सुरक्षा उपायको पुनरावलोकन गर्दैछौं। भाग्यवश, यो घटनामा कुनै मानिस घाइते भएन, तर यसले हाम्रो आपतकालीन सेवा क्षमतामा गम्भीर असर पु¥याएको छ।”
प्रहरीले घटनाबारे जानकारी वा दृश्य सामग्री भएका व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ। अनुसन्धान अझै जारी छ।