२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ब्रोंक्समा कारले तीन महिलालाई ठक्कर दिएर फरार — प्रहरीद्वारा खोजी जारी

ब्रोंक्समा कारले तीन महिलालाई ठक्कर दिएर फरार — प्रहरीद्वारा खोजी जारी

न्यूयोर्क- न्यूयोर्क सिटीको ब्रोंक्स क्षेत्रमा शनिबार बिहान एक विवादपछि एक चालकले जानाजानी साइडवाकमा गाडी चलाएर तीन महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनामा परेकी ३१ वर्षीया, २७ वर्षीया र ४० वर्षीया तीन महिला घाइते भएका छन् र अस्पतालमा उपचाररत छन्। उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।

एनवायपीडीका अनुसार घटना बिहान ४:३० बजे ईस्ट ट्रेमन्ट एभेन्युमा भएको थियो। ब्लू मित्सुबिशी आउटल्याण्डर चढेका चालकले विवादपछि सिधै साइडवाकमा गाडी हाँकेर महिलाहरूमाथि ठक्कर दिएर फरार भएको जनाइएको छ।

विवादको कारण खुल्न सकेको छैन, न त ती चालक र महिलाहरू पहिलेबाट एकअर्कालाई चिन्दथे कि भन्ने कुरा पुष्टि भएको छ।

घटनापछि प्रहरी अनुसन्धानमा जुटेको छ र घटनास्थल नजिकको निगरानी क्यामेराको फुटेज सार्वजनिक गरिएको छ, जसमा एसयूभी साइडवाकमा उफ्रिएको देखिन्छ।