सुष्मा कार्की निर्विरोध निर्वाचित : एनआरएनए न्यूयोर्क च्याप्टरमा महिलाको सशक्त उपस्थिति
- ०६ साउन २०८२
- २ मिनेटको पढाई
न्यूयोर्क – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति, अमेरिका – न्यूयोर्क च्याप्टरको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महिला उपाध्यक्ष पदमा सुष्मा कार्की निर्विरोध निर्वाचित भएकी छन्। उम्मेदवारीको घोषणा गर्दै सामाजिक सेवा, पारदर्शी नेतृत्व र महिला सहभागिता सुदृढ गर्ने प्रतिवद्धता जनाएकी कार्कीले अब निर्वाचित पदाधिकारीको रूपमा ती एजेन्डाहरू कार्यान्वयनमा लैजाने स्पष्ट सङ्केत गरेकी छन्।
निर्वाचनअघि कार्कीले न्यूयोर्कमा सक्रिय गैरआवासीय नेपाली समुदायलाई सम्बोधन गर्दै आफ्ना अनुभव, दृष्टिकोण र योजनाहरू सार्वजनिक गरेकी थिइन्। “हामी नेपालीले संस्कार, भाषा र संस्कृतिको सम्मान गर्दै विदेशी भूमिमा पहिचान जोगाइरहेका छौं। अब नयाँ पुस्ताको नेतृत्व विकास र महिलाहरूको सहभागिता अझ सशक्त बनाउने समय आएको छ,” भन्ने उनको भनाइले महिलाको नेतृत्व विकासलाई प्राथमिकतामा राखेको देखिन्छ।
उनको प्रमुख एजेन्डामध्ये न्यूयोर्कमा एनआरएनए च्याप्टरको स्थायी कार्यालय स्थापना पहिलो प्राथमिकता हो। उनले दीर्घकालीन र पारदर्शी फण्ड संकलनमार्फत यो योजना अघि बढाउने योजना बनाएकी छन्। साथै, महिलाहरूको सशक्तिकरण र आवाज बुलन्द बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाएकी थिइन्।
निर्वाचनपछिको प्रतिक्रिया दिंदै, कार्कीले सामाजिक सद्भाव, सामुदायिक हकहित र साझा मुद्दामा सहकार्य गर्ने उद्देश्य पुनः दोहोर्याएकी छन्। उनले फेसबुकमार्फत लेखेकी छन्, “साझा मुद्दामा सहकार्य गर्ने उद्देश्यसहित मैले उम्मेदवारी घोषणा गरेकी थिएँ। अब त्यो विश्वासलाई व्यवहारमा रूपान्तरण गर्ने समय आएको छ। सबै नेपाली समुदायको साथ, सहयोग र समर्थनप्रति आभार व्यक्त गर्दछु।”
उनले न्यूयोर्क च्याप्टरले अहिलेसम्म स्थानिय सरकार वा सिटी निकायबाट कोष प्राप्त गरी सामाजिक काम गर्न नसकेको उल्लेख गर्दै अबको कार्यकालमा त्यस्तो प्रयासमा आफू जुट्ने स्पष्ट गरेकी छन्। “न्युयोर्कका केही संस्थाले सिटीबाट कोष पाएका छन्, तर एनआरएनए च्याप्टरले यो काम अझै गर्न सकेको छैन। अब म यो सम्भावना प्रयोग गर्नेछु र सामाजिक सेवामा त्यसलाई लगानी गरिनेछ,” उनले मकै हाउस न्यूजलाई बताएकी छन्।
यस निर्वाचनमा महिला उपाध्यक्षसहित कोषाध्यक्ष पदमा गौत्तम ढकाल, महिला संयोजकमा निशा ढुंगाना, र बोर्ड सदस्यमा राजेश खत्री पनि निर्विरोध निर्वाचित भएका छन्। यद्यपि, अध्यक्ष र सचिव पदमा प्रतिस्पर्धा भएकाले ती पदका लागि निर्वाचनपछिको नतिजा कुर्नु पर्नेछ।
सुष्मा कार्कीको नेतृत्वमा एनआरएनए न्यूयोर्क च्याप्टरको नयाँ कार्यसमिति सामाजिक समावेशिता, पारदर्शिता र समुदाय–मुखी कार्यदिशा तर्फ अग्रसर हुने अपेक्षा गरिएको छ।