ओबामाको ट्रम्पलाई जवाफ : ‘देशद्रोह’ आरोप हास्यास्पद र ध्यान हटाउने प्रयास हो
- ०७ साउन २०८२
- १ मिनेटको पढाई
वासिङटन- पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको “देशद्रोह” आरोपलाई अस्वीकार गर्दै ती दाबीहरूलाई “हास्यास्पद” र “ध्यान हटाउने कमजोर प्रयास” भनेका छन्। ट्रम्पले ओबामामाथि २०१६ र २०२० को निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएका थिए।
ओबामाका प्रवक्ताले भने, “साधारणतया, हामी ट्रम्प प्रशासनका झूटा र निराधार आरोपहरूमा प्रतिक्रिया दिँदैनौं। तर यसपटकको आरोप यति अपमानजनक छ कि जवाफ दिनैपर्ने भयो।”
ट्रम्पले एक पत्रकार सम्मेलनमा आफूमाथि भएको “अन्याय” को बहानामा ओबामालाई सीधै दोषारोपण गरे। उनले भने, “उनीहरू (ओबामा प्रशासन) ले देशद्रोह गरे। उनीहरू निर्वाचन चोरी गर्न खोजिरहेका थिए।”
ट्रम्पका यी दाबीहरू पूर्व गुप्तचर प्रमुख तुलसी गब्बार्ड र सीआईए निर्देशक जॉन राटक्लिफका सामाजिक सञ्जाल पोस्टहरूमाथि आधारित छन्, जसमा ओबामा प्रशासनले ट्रम्पको चुनावी वैधता कमजोर पार्ने प्रयास गरेको भनिएको छ। गब्बार्डले न्याय विभागमा आपराधिक उजुरी दिने घोषणा समेत गरेकी छिन्।
तर ओबामाका प्रवक्ताले भने, “यस्ता दस्तावेजहरूले सन् २०१६ मा रुसले अमेरिकी निर्वाचनमा प्रभाव पार्न खोजेको, तर मतहरूमा प्रत्यक्ष प्रभाव नपरेको भन्ने सर्वसम्मत निष्कर्षलाई खण्डन गर्दैन।” यो निष्कर्ष २०२० मा सिनेटको द्विदलीय प्रतिवेदनद्वारा पनि पुष्टि गरिएको हो।
विशेष अभियोजक रोबर्ट मुलर र अमेरिकी सिनेटको अनुसन्धानले रुसले ट्रम्पको पक्षमा ह्याक र प्रचारद्वारा हस्तक्षेप गर्ने प्रयास गरेको पुष्टि गरिसकेका छन्। अर्का विशेष अभियोजक जॉन डरहमको अनुसन्धानले एफबीआईको कार्यशैलीप्रति आलोचना गरे तापनि ट्रम्पको दाबीअनुसारको आपराधिक प्रमाण पत्ता लगाउन सकेको थिएन।
डेमोक्र्याट सांसदहरूले ट्रम्पले जेफ्री एपस्टाइनसम्बन्धी आलोचनाबाट ध्यान हटाउन विगतका मुद्दा फेरी उठाएको बताएका छन्। प्रतिनिधिसभाका डेमोक्र्याट नेता पिट अगुइलरले भने, “यी सबै आरोपहरू एपस्टाइनको मुद्दाबाट ध्यान हटाउने अर्को प्रयास मात्रै हुन्।”
ट्रम्पले सामाजिक सञ्जालमा डेमोक्र्याट नेताहरूको एआई-निर्मित ‘मगशट’ समेत साझा गर्दै विपक्षीहरूविरुद्ध आक्रामक अभियान चलाई रहेका छन्।