न्युयोर्क- तीज नजिकिँदै गर्दा मौलिक गीत–संगीतको खोजीमा रहेका दर्शक–श्रोताका लागि गायक मोतिराज खनालको नयाँ प्रस्तुति‘छड्के कपाल किन कोरेको’ नयाँ तरङ्ग बनेर उभिएको छ। मौलिकताको स्वादमा डुबेको यो तीज गीतले अहिलेका युवा पुस्तादेखि गाउँघरकी आम दिदीबहिनीको मन छुन सफल भएको छ।
दुई दशकभन्दा लामो संगीत यात्रा तय गरेका खनालले यस गीतमार्फत केवल मनोरञ्जन मात्र होइन, सांस्कृतिक चेतना र नारी सशक्तिकरणको सन्देश पनि पुर्याएका छन्। लय, शब्द र भावनाको त्रिकोणीय समिश्रणले गीतलाई ‘सुनिरहूँ’ भन्ने खालको बनाएको छ।
जहाँ आज तीजका नाममा उत्ताउला शब्द र भड्किलो प्रस्तुतिले बजारमा ठाउँ बनाइरहेका छन्, त्यहीँ मोतिराज खनालले ल्याएको यो गीत शुद्ध मौलिकताको सशक्त उदाहरण बनेको छ। उनको चर्चित ‘सुपा देउराली भजन’ जस्तै, यो गीत पनि संगीतप्रेमीको मनमा विशेष स्थान बनाउन अग्रसर देखिन्छ।
गीतमा गायक खनालसँगै गायिका राधिका हमालको स्वरको सशक्त संगत छ, जसले गीतलाई गहिराइ थपेको छ। साथै, दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लले स्वरको विविधता भरेका छन्। शब्द, संगीत र स्वर मोतिराज खनालकै सिर्जना हो भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। ‘द म्युजिक इरा’ स्टुडियोमा कृष्ण बाजुरालीले रेकर्डिङ तथा मिक्सिङ गरेका छन्।
भिडियो पक्षमा पनि गीत निकै सबल देखिन्छ। चर्चित निर्देशक सुरज खनालको निर्देशनमा बनेको भिडियोलाई शिवजी क्षेत्रीले कोरियोग्राफ गरेका छन्। सुशील डाँगीको छायांकन, सम्पादन र रङ संयोजनले भिडियोमा भिजुअलले गहिराइ थपेको छ। भिडियोमा कृष्ण खत्री र रिना गुरुङको केमेस्ट्री, अभिनय र उर्जाले गीतलाई थप जीवन्त बनाएको छ। जापानमा रहेर पनि अभिनयमार्फत नेपाली सांस्कृतिक पहिचानलाई जोगाइरहेका खत्री नेपाल आएको छोटो समयमा यो भिडियोमार्फत दर्शकमाझ आएका हुन्। रिना गुरुङ्गको अभिनयले पनि भिडियोमा गहिरो प्रभाव छोडेको छ।
गीतमा गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको अभिनयले विविधता थपेको छ। ललितपुरको यूएन पार्कमा छायाङ्कन गरिएको भिडियोलाई जीवन पासाको मेकअप, विशाल राईको प्रविधि समर्थन, र शिवजी डान्स सेन्टरको पोस्ट प्रोडक्सनले उत्कृष्ट बनाएको छ।
भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा सम्पन्न गीत विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सांसद बिजुला रायमाझी सहभागी थिइन्। साथमा लक्ष्मण रायमाझी, ऋषिराम भुसाल, धनेन्द्र बस्नेत लगायत अतिथिहरूको सहभागिता रहेको कार्यक्रम सन्सा फिल्म्सका अध्यक्ष सुरज खनालको सभापतित्वमा सम्पन्न भएकाे थियाे। कलाकारहरूलाई प्रशंसा पत्र वितरण गरिएको सो कार्यक्रमको सञ्चालन सबिन खड्काले गरेका थिए।
मोतिराज खनालले उक्त अवसरमा भने,“सम्पूर्ण टिमको मेहनतले गीत र कार्यक्रमलाई सफल बनाएको हो, हामीले मौलिकतालाई आत्मासँग जोड्ने प्रयास गरेका छौँ।”
गीत युट्युब, फेसबुक र टिकटकजस्ता डिजिटल प्लेटफर्ममा छोटो समयमै भाइरल बन्दै गएको छ। विशेषगरी महिला दिदीबहिनीको भावनासँग जोडिएको यो गीतले तीजको रौनक अझै बढाउने निश्चित छ।