२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकाबाट लाओस डिपोर्ट गरिएकी विस्कन्सिनकी आमाको पीडा : युद्धबाट भागेका अभिभावककी छोरी अब जन्मेको देशबाट विस्थापित

अमेरिकाबाट लाओस डिपोर्ट गरिएकी विस्कन्सिनकी आमाको पीडा : युद्धबाट भागेका अभिभावककी छोरी अब जन्मेको देशबाट विस्थापित

न्युयोर्क- विस्कन्सिनकी ३७ वर्षीया मा याङलाई अमेरिका सरकारले लाओस डिपोर्ट गरेपछि उनको जीवन एकाएक उल्टिएको छ। पाँच सन्तानकी आमा याङ सन् २०२2 मा लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहरिएकी थिइन्, जसका कारण उनको स्थायी आवास अनुमति (ग्रीन कार्ड) खारेज गरियो। त्यसपछि उनलाई अमेरिका सरकारले २०२५ मा लाओस पठाएको हो — एक यस्तो देश जहाँ उनी कहिल्यै गएकी थिइनन्, जसको भाषा बोल्न जान्दिनन्, र जसको नागरिकता समेत छैन।

मा याङका आमाबुवा सन् १९७० को दशकमा अमेरिकी गुप्त युद्ध (Secret War) का कारण लाओसबाट भाग्न बाध्य भएका थिए। याङ थाइल्यान्डको शरणार्थी शिविरमा जन्मेकी थिइन् र आठ महिनाको उमेरमै अमेरिका आएकी थिइन्। विस्कन्सिनको मिलवाकीमा हुर्किएकी याङले कठिन जीवन बिताइन्—१४ वर्षको उमेरमा आमा बनिन्, एक समय घरेलु हिंसाको शिकार भइन्, तर पछि आफ्ना सन्तानसँग मिलेर नयाँ जीवन सुरु गरिरहेकी थिइन्।

तर डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा सुरु भएको कडा आप्रवासन नीतिले याङजस्ता सयौं दक्षिणपूर्वी एसियाली आप्रवासीहरूलाई प्रभावित बनाएको छ। खासगरी लाओस र भियतनाममा डिपोर्ट गरिएका पूर्व शरणार्थीहरूको संख्या एक्कासि बढेको छ। ट्रम्प प्रशासनले लाओसलाई दबाब दिँदै डिपोर्ट गरिएका व्यक्तिहरूलाई स्विकार गर्न लगाएको छ।

हाल याङ लाओसको राजधानी भिएन्तियानमा अस्थायी परिचयपत्रसहित बसिरहेकी छिन्। उनले त्यहाँको नागरिकता लिन एक वर्षसम्म पर्खिनुपर्ने बताइएको छ। अर्कोतर्फ, उनका अमेरिकी नागरिक पति माइकल बब पाँच सन्तानको हेरचाह गर्दै कठिन जीवन गुजारिरहेका छन्।

अधिकारकर्मीहरूले अमेरिका आफैंले उत्पन्न गरेको युद्धको परिणामस्वरूप आएका शरणार्थीहरूलाई दीर्घकालीन संरक्षण दिनुपर्ने माग गरेका छन्। याङको परिवारले उनलाई पुनः अमेरिका फर्काउन कानुनी सहयोग जुटाउन GoFundMe मार्फत आर्थिक सहयोग संकलन गरिरहेको छ।

“म बिर्सिन चाहन्न,” याङले भनिन्, “म अन्तिम क्षणसम्म पनि मेरो मुद्दाका लागि लडिरहनेछु।”