२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

शिकागोविरुद्ध ट्रम्प प्रशासनले दायर गरेको मुद्दा संघीय न्यायाधीशद्वारा खारेज

शिकागोविरुद्ध ट्रम्प प्रशासनले दायर गरेको मुद्दा संघीय न्यायाधीशद्वारा खारेज

शिकागो- ट्रम्प प्रशासनले इलिनोइस राज्य र शिकागोको “स्यान्क्चुरी नीति” विरुद्ध दायर गरेको मुद्दा एक संघीय न्यायाधीशले खारेज गरिदिएका छन्। न्यायाधीश लिन्डसे सी. जेन्किन्सले ६४ पृष्ठ लामो निर्णयमा संघीय सरकारसँग मुद्दा हाल्ने अधिकार नभएको ठहर गर्दै मुद्दा खारेज गरेकी हुन्।

संविधानको १०औं संशोधन अनुसार राज्यहरूलाई दिइएका अधिकारका आधारमा इलिनोइसले संघीय आप्रवासन कानून कार्यान्वयनमा सहभागी नहुने निर्णय गर्न पाउने अधिकार रहेको निर्णयमा उल्लेख गरिएको छ।

न्यायाधीशले लेखेकी छिन्, “स्यान्क्चुरी नीतिहरू इलिनोइस राज्यले नागरिक आप्रवासन कानुन कार्यान्वयनमा भाग नलिने निर्णय दर्शाउँछ — जुन निर्णय १०औं संशोधनले सुरक्षित गर्छ।”

यदि ट्रम्प प्रशासनको माग मानिएको भए, संघीय सरकारले राज्यलाई नियन्त्रण गर्ने प्रयास भएको ठहर्ने निर्णयमा उल्लेख छ।

इलिनोइसका गभर्नर जे.बी. प्रिट्जकरले निर्णयको स्वागत गर्दै भने- “संघीय सरकारले कानुन अनुसार कार्य गरेमा राज्यले साथ दिन्छ, तर ट्रम्प प्रशासनका अवैध र दुरुपयोगपूर्ण नीतिहरूमा हामी सहभागी हुने छैनौं।”

ट्रम्प प्रशासनले स्यान्क्चुरी सहरहरू विरुद्ध देशभर अभियान चलाउँदै आएको छ, जसअन्तर्गत न्यूयोर्क सहर, न्यूयोर्क राज्य, लस एन्जलस लगायतका स्थानहरूमा समेत मुद्दा हालेको छ। यी सबै प्रयासहरू आप्रवासन नीतिमा कडाइ गर्न ट्रम्पको राष्ट्रव्यापी अभियानको हिस्सा हुन्।

तर हालसम्म संविधानको संशोधन र अधिकार पृथकीकरण सिद्धान्तको आधारमा संघीय अदालतले ट्रम्प प्रशासनका धेरै कदमहरूलाई असंवैधानिक ठहर गर्दै रोक लगाएको छ।