२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्यूयोर्क सिटी पब्लिक स्कूलहरूले नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने

न्यूयोर्क सिटी पब्लिक स्कूलहरूले नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने

न्यूयोर्क– न्यूयोर्क सिटीका सार्वजनिक विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०२५–२०२६ देखि कक्षाभित्र मोबाइल फोन र अन्य इन्टरनेट प्रयोग गर्न सकिने उपकरणहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। कक्षामा ध्यान केन्द्रित गराउने र विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।

मेयर एरिक एडम्स र स्कुल चान्सलर मेलिसा एभिलेस–रामोस ले बुधबार संयुक्त रूपमा यो नीति सार्वजनिक गरेका हुन्। उनीहरूका अनुसार विद्यार्थीहरू अब स्कूल आउँदा–जाँदा त उपकरणहरू राख्न सक्नेछन्, तर कक्षा अवधि भरि ती पूर्ण रूपमा बन्द गरेर झोलामा वा तोकिएको स्थानमा राख्नुपर्नेछ।

“मोबाइल फोनको अत्यधिक प्रयोगले विद्यार्थीहरूको ध्यान भंग हुने, सिकाइमा असर पर्ने र मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने देखिएको छ। अब यो नयाँ नीति लागू गरेर हामी हाम्रो भविष्यका पुस्तालाई पूर्ण क्षमतामा पुग्न सहयोग पुर्‍याउनेछौं,” मेयर एडम्सले भने।

स्कूल चान्सलर एभिलेस–रामोसले भने, “यस नीतिलाई विद्यालय, विद्यार्थी र परिवारहरूको विविध आवश्यकता अनुसार लचक बनाइएको छ, जसमा सबैको सुझावलाई समेटिएको छ।”

नीतिअनुसार:
– स्वास्थ्य सम्बन्धी विशेष आवश्यकताहरू भएका विद्यार्थीहरूलाई अपवाद दिइनेछ।
– विद्यालयहरूले आपतकालीन अवस्थामा अभिभावक र विद्यार्थीबीच सम्पर्क कायम गर्न मिल्ने व्यवस्था गर्नुपर्नेछ।
– मोबाइल फोन राख्न विद्यालयहरूलाई पाउच, लकर वा अन्य सुरक्षित स्थानको व्यवस्था गर्न छुट दिइनेछ।

यस नीतिको प्रभावकारी कार्यान्वयनका लागि मेयर एडम्सले $२५ मिलियन बजेट छुट्याएका छन्, जुन न्यूयोर्क सिटीका १,६०० भन्दा बढी सार्वजनिक विद्यालयहरूमा खर्च हुनेछ। यसअघि, गभर्नर क्याथी होचुल ले राज्य बजेटमा $२५४ अर्ब छुट्याउँदै सम्पूर्ण राज्यभर “bell-to-bell” मोबाइल प्रतिबन्ध नीति लागू गर्ने घोषणा गरिसकेकी छिन्।

विद्यार्थीको सिकाइमा सुधार ल्याउने र उनीहरूलाई डिजिटल ध्यानभंगबाट जोगाउने आशयले लागू गरिएको यो नीति आगामी सत्रदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ।