प्रहरी अधिकृत दिदारुल इस्लामको अन्त्येष्टिमा बोले न्यूयोर्क मेयर एडम्स
- १५ साउन २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- म्यानह्याटनमा गोली प्रहार गरी मारिएका NYPD प्रहरी अधिकारी दिदारुल इस्लामको अन्त्येष्टिमा न्यूयोर्क सिटी मेयर एरिक एडम्सले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बोलेका छन्।
बिहीबार ब्रोंक्सस्थित पार्कचेस्टर जामे मस्जिदमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मेयर एडम्सले भने, “उहाँले आफ्नो जीवनको बलिदान दिँदै न्यूयोर्कबासीको सुरक्षा गर्नु भयो। उहाँ साँच्चिकै न्यूयोर्कको लागि समर्पित र इमान्दार प्रहरी हुनुहुन्थ्याे।”
३६ वर्षीय इस्लाम चार वर्षदेखि NYPD मा कार्यरत थिए। उनी छुट्टीमा भए पनि निजी कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए। सोमबार म्यानह्याटनमा भएको गोलीकाण्डमा घाइते भई उपचारको क्रममा निधन भएका उनको परिवार, साथीभाइ र सहकर्मीहरूले राष्ट्रिय सम्मानका साथ अन्तिम श्रद्धाञ्जली दिइरहेका छन्।
कार्यक्रममा राज्यपाल केथी होचुल, पुलिस कमिश्नर जेसिका टिश लगायतका नेताहरू पनि उपस्थित थिए। अन्त्येष्टिमा ठूलो संख्यामा प्रहरी अधिकारी र स्थानीय समुदायको उपस्थिति थियो।
मेयर एडम्सले शोकाकुल परिवारलाई धैर्यता र एकताको सन्देश दिँदै इस्लामको योगदानलाई सदैव सम्झिने बताए। कार्यक्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो र भीड व्यवस्थापनका लागि ट्राफिक सीमित गरिएको थियो।