गाजामा शिशुहरूको भोकमरी: दूध र आहारको अभावमा नवजात शिशुहरू संकटमा
- १६ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- इजरायली नाकाबन्दीका कारण गाजा क्षेत्रमा शिशु दूधको अभावले हजारौं नवजात बालबालिका भोकमरीको चपेटामा परेका छन्। स्थानीय चिकित्सक डा. खलील डक्रानले अल जजिरालाई बताए अनुसार आमाहरू आफैं कुपोषित भएकाले स्तनपान गराउन सक्दैनन्। फलस्वरूप बच्चाहरूलाई पानी वा पिसेको सख्त खाना खुवाइँदैछ, जसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ।
एक आमाले भनेकी छन् कि उनले आफ्नो चार महिनाको बच्चालाई ताहिनी र पानीको मिश्रण खुवाउने प्रयास गरिन् तर बच्चाले खान मानेन। अर्की हजुरआमाले भनेकी छन् कि आफ्नो तीन महिनाकी नातिनीलाई चिया र मसला पानी खुवाएर जोगाइरहेकी छन्।
इस्रायली कारबाही र नाकाबन्दीका कारण खाना, पानी, औषधि लगायत अत्यावश्यक सामग्रीको अभाव छ। हालसम्म भोकमरीका कारण १५९ जनाको ज्यान गइसकेको छ, जसमा ९० जना बालबालिका छन्।
संयुक्त राष्ट्रसंघले पटक-पटक इजरायललाई मानवीय सहायता बिना अवरोध पुर्याउन आग्रह गर्दै आएको छ, तर इजरायली सेना र प्रशासनले सहयोग मार्गहरूमा अवरोध पुर्याइरहेको UN अधिकारीहरूले बताएका छन्।
यसैबीच, सहायता लिन गएका सर्वसाधारणमाथि इजरायली सेनाले गोली चलाउँदा थप २३ जनाको मृत्यु भएको छ। हमासले युद्ध अन्त्यका लागि वार्तामा तयार रहेको बताउँदै मानवीय सहायता तत्काल पुर्याउन माग गरेको छ।
गाजाका आमाबाबुहरू भने आफ्ना नानीबाबुहरूलाई जोगाउन हरेक उपायमा संघर्षरत छन्।