न्यूयोर्क- विद्यार्थी विदेश पलायनको गति विकराल बन्दै गएको छ । वार्षिक करिब एक लाखको संख्यामा विद्यार्थी विदेश जाने गरेको तथ्यांकले पुष्टि गरेका छन् । विद्यार्थी अध्ययनका लागि विदेश जाँदा अर्बौं रुपियाँ बाहिरिने गरेको छ । अर्कोतर्फ स्वदेशमा भएका शिक्षण संस्था विद्यार्थीविहीन हुँदै छन् । शिक्षण संस्थामा लगानी गर्ने व्यक्तिको लगानी पनि जोखिममा परेको छ । सरकारी लगानीमा चलेका शिक्षण संस्थाको अवस्था त झन् टिठलाग्दो छ ।
यसरी उच्च स्तरमा विद्यार्थी विदेश पलायन हुनु सरकार र सरोकार पक्षको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । विद्यार्थीहरू अध्ययनका लागि विदेश जान किन लालयित भएका हुन्, कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विदेश जानुपर्ने बाध्यता हो कि रहर मात्रै, हाम्रा शिक्षण संस्थाप्रति वितृष्णा बढ्नुका कारण के-के होलान्, विद्यार्थी विदेश अध्ययन गर्न जाँदा राज्यलाई तत्काल र दीर्घकालमा के-के फाइदा र हानि हुन सक्ला आदिको वस्तुनिष्ठ लेखाजोखा गर्नु दूरदर्शिता ठहर्छ ।
वैदेशिक अध्ययनमा जान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने हुन्छ । यसरी प्रमाणपत्र लिने सबै विद्यार्थी भिसा अस्वीकृतलगायत कारणले विदेश जाँदैनन् । पछिल्ला तथ्यांक अनुसार अध्ययनका लागि जाने देशको प्राथमिकतामा अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, अमेरिका, कोरिया, भारत क्रमशः प्रमुख रहेका छन् ।
विदेश अध्ययनमा जाँदा अर्बौं रुपियाँ पनि विदेशिन गएको छ । तथापि वैदेशिक अध्ययनमा जाँदा देखिएको खर्चलाई मात्रै हेरेर नकारात्मक धारणा बनाउनु न्यायोचित हुँदैन । वैदेशिक अध्ययनमा आकर्षण बढ्नुका विविध कारण हुन सक्छन् । अहिलेको विश्व भूमण्डलीकरणको प्रतिस्पर्धी युगमा नयाँ ठाउँमा गएर गुणस्तरीय शिक्षा हासिल गर्ने अपेक्षा हुनु स्वाभाविकै हो । नयाँ ठाउँ हेर्ने, नयाँ कुरा सिक्ने जिज्ञासा र अवसरको खोजी गर्नुलाई अन्यथा मान्न सकिन्न । प्रतिस्पर्धी युगमा समयानुकूल शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नु अभिभावक र सरकारको दायित्व पनि हो ।
वैदेशिक अध्ययनमा जाने अधिकांश विद्यार्थीले सुरुमा जानेबेला खर्च गरे पनि पछि पढ्दै कमाउँदै गर्ने अवसर पाउँछन् । अझ कतिपय विद्यार्थीले नेपालमा परिवारलाई खर्चसमेत पठाउँछन् । ऋणधन गरेर भए पनि विदेश जाने गरेका कैयौं उदाहरण छन् । अर्कोतर्फ, एक पटक विदेश गएका विद्यार्थी त्यहाँको रहनसहन, सुविधा तथा वातावरणीय अनुकूलताका कारणले पनि सकभर नफर्किने प्रयासमा रहेका हुन्छन् ।
स्वदेशमा रहेका शिक्षण संस्थाको अस्तव्यस्तता, शिक्षा र रोजगारीसँग तालमेल नहुनु, तोकिएको समयमा अध्ययन र परीक्षा नहुनु, पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कनमा समयानुकूल सुधार नहुनु, परीक्षाको नतिजा प्रकाशनमा अस्वाभाविक विलम्ब र हेलचेक्र्याइ हुनु, काम गर्दै पढ्ने अवसर न्यून हुनु, पढाइ सम्पन्न गरिसकेपछि पनि रोजगारी अवसर ज्यादै न्यून रहनु, उच्च शिक्षाका शिक्षण संस्थामा चरम राजनीति र अराजकताले अनुशासनहीनता मौलाउनु, देश र विश्व परिवेशको श्रम बजारसमेतलाई ध्यानमा राखेर आवश्यक जनशक्ति उत्पादन गर्ने खालको दीर्घकालीन र अल्पकालीन योजनाको तर्जुमा नहुनु, शिक्षाको विकास र विस्तारका लागि दूरदर्शी नीतिनियमको अभाव आदिलाई विद्यार्थी पलायनको प्रमुख कारण मान्न सकिन्छ ।
माथिल्ला तहका विद्यार्थीको तुलनामा कक्षा १२ उत्तीर्ण भएपश्चात् विदेशिनेको संख्या उच्च छ । विद्यालय तहका कक्षामा अध्ययनकै क्रममा नै उनीहरूको लक्ष्य उच्च शिक्षाका लागि विदेश जाने मनोविज्ञान बनाइसकेका हुन्छन् । देशभित्रका कलेजहरू विद्यार्थीविहीन हुने क्रम बढ्दो छ । निजी क्षेत्रमा खुलेका शिक्षण संस्थाको लगानी डुब्ने अवस्थामा पुगेको सञ्चालकहरूको गुनासो र चिन्ता सार्वजनिक हुन थालेका छन् । इन्जिनियरिङ अध्ययन संस्थालगायतका लागि छुट्याइएको छात्रवृत्ति कोटासमेत पर्याप्त आवेदन नपरेका कारण खेर जाने गरेको छ । कीर्तिपुरलगायतका कतिपय क्याम्पसमा सञ्चालित विषयगत संकायमा विद्यार्थी संख्या न्यून मात्र नभई शून्य नै भएका छन् ।
अर्थात् विद्यार्थीको घट्दो आकर्षणका कारण शिक्षण संस्था र त्यहाँ कार्यरत जनशक्तिको भविष्य नै अनिश्चित बन्दै गएको छ । अध्ययनका लागि विदेशिएका युवा जनशक्ति यथासक्य विदेशमै बस्ने प्रयास गरेका हुन्छन् । न्यून संख्यामा मात्र स्वदेश फर्किने गरेको पाइन्छ ।
विदेशमा अध्ययन गर्न जाने फेसनको रूपमा नै विकास भएको जगजाहेर नै छ । यस्तो परिस्थितिका कारण देशमा युवा जनशक्तिमा ह्रास आउने क्रम बढ्दो छ । रोजगारीका लागि र अध्ययनका लागि युवा जनशक्ति विदेशिने प्रवृत्तिले निरन्तरता पाइरहेमा देश वृद्धाश्रममा परिवर्तन नहोला भन्न सकिन्न । देश विकासका लागि आवश्यक दक्ष युवा जनशक्तिको अभावमा कति समयसम्म रेमिट्यान्सको आधारमा रमाउने हो, यकिन छैन ।
आफ्नो देश विकास नगरेर रेमिट्यान्सलाई प्रमुख आयस्रोत मान्नु – सुन्निएर मोटाउनु जस्तै हो । विद्यार्थीको वैदेशिक अध्ययनको मोहलाई परिवर्तन गरेर क्रमशः स्वदेशतर्फ आकर्षण गर्ने काम कठिन भए पनि असम्भव छैन ।
यसका लागि विभिन्न माध्यम र उपाय हुन सक्छन् ।
– शिक्षण संस्थाको व्यवस्थापन गुणस्तरीय र समसामयिक हुनुपर्छ
– शिक्षा नीति भविष्यदर्शी हुनुपर्छ
– पाठ्यक्रम र शिक्षण विधि समयको माग अनुसार व्यावहारिक र रोजगारमुखी हुनुपर्छ
– शैक्षिक क्यालेन्डर निर्माण गरेर कडाइका साथ पालना गरिनुपर्छ
– शिक्षण पेसामा अब्बल र समर्पित जनशक्तिलाई प्रवेशका लागि आकर्षक सेवा सुविधाका प्याकेज ल्याइनुपर्छ
– विद्यार्थीलाई पढ्दै कमाउने अवसर प्रदान गरिनुपर्छ
– शिक्षण संस्थालाई विशुद्ध प्राज्ञिक स्थलको रूपमा विकास र विस्तार गरिनुपर्छ
– विदेशमा अध्ययन पूरा गरेकालाई स्वदेश फर्काउन आकर्षक सुविधा र सम्मानका योजना ल्याइनुपर्छ
देशमा बसेर केही हुँदैन, विदेशमा सबैथोक पाइन्छ भन्ने नकारात्मक मानसिकतालाई चिर्न सरकार र सरोकार पक्षले दूरदर्शी योजना ल्याएर आक्रामक कार्यान्वयन गर्नु आजको खाँचो हो ।
“बाली नालीका लागि ६ महिना, फलफूल खेतीका लागि १० वर्ष र मानिसलाई शिक्षा प्रदान गरेर सबल र सफल नागरिक बनाउन कम्तीमा १०० वर्षको योजना बनाउनु पर्छ” भन्ने शाश्वत भनाइलाई आत्मसात् गर्नेतर्फ पनि हेक्का पुर्याउन बिर्सनु हुँदैन ।
सन्त रिसाल, न्यूयोर्क