२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्युजर्सीमा २.७ म्याग्निच्युडको भूकम्प, तीन दिनमै दोस्रो कम्पन

न्युजर्सीमा २.७ म्याग्निच्युडको भूकम्प, तीन दिनमै दोस्रो कम्पन

न्युयोर्क- अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार मंगलबार दिउँसो उत्तरी न्युजर्सीमा २.७ म्याग्निच्युडको भूकम्प आएको छ। यसको केन्द्र बर्गेन काउन्टीको हिल्सडेलदेखि करिब २ किलोमिटर दक्षिणपश्चिममा, भूमिगत तीनदेखि छ माइल गहिराइमा रहेको बताइएको छ।

यो कम्पन बर्गेन काउन्टीमा तीन दिनभित्रै आएको दोस्रो भूकम्प हो। यसअघि शनिबार राति हसब्रुक हाइट्स क्षेत्रमा ३.० म्याग्निच्युडको भूकम्प आएको थियो, जसको असर न्युयोर्क सहरसम्म पुगेको थियो।

कोलम्बिया विश्वविद्यालयका विज्ञहरूले मंगलबारको कम्पनलाई शनिबारको ‘आफ्टरशक’ भने मान्न नमिल्ने बताए पनि त्यस भूकम्पले हालको गतिविधिमा योगदान पुर्‍याएको हुनसक्ने बताएका छन्। हालैको भारी वर्षाले भूमिगत चाप बढाएर कम्पनको सम्भावना पनि बढाउन सक्ने उनीहरूको भनाइ छ।

यसअघि सन् २०२४ मा पश्चिमतर्फको ट्यूक्सबरी क्षेत्रमा ४.८ म्याग्निच्युडको भूकम्प आएको थियो। विज्ञहरूले पूर्वी अमेरिकी क्षेत्रमा यस्ता साना भूकम्प दुर्लभ भए पनि ठूलो भूकम्पको सम्भावना रहन्छ भन्दै जनचेतना र निगरानी बढाउन सुझाव दिएका छन्।