एरिजोनामा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना, ४ जनाको मृत्यु
- २१ साउन २०८२
- १ मिनेटको पढाई
एरिजोना – एरिजोनाको नवाजो नेशनभित्र पर्ने चिनले म्युनिसिपल विमानस्थलमा अवतरण गर्ने क्रममा एक मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनाग्रस्त भई आगलागी हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
नवाजो नेशन प्रहरी विभागका कमाण्डर इमेट याज्जीका अनुसार, बिचक्राफ्ट ३०० मोडेलको विमान मंगलबार दिउँसो करिब १२:४० स्थानीय समयमा पूर्वी एरिजोनाका बिरामीलाई एयर एम्बुलेन्स सेवामार्फत स्थानान्तरण गर्नको लागि चिनले म्युनिसिपल एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
विमानमा दुई पाइलट र दुई स्वास्थ्यकर्मी सवार थिए, र सबैको घटनास्थलमै मृत्यु भएको CSI एभिएसनका प्रवक्ता रोबर्ट सेंट जेम्सले बताए। विमानमा दुर्घटनाको समयमा कुनै बिरामी सवार थिएनन्।
नवाजो नेशन प्रहरी विभागकी प्रवक्ता क्रिस्सी लार्गोका अनुसार, विमान रनवेबाट करिब ३०० यार्ड टाढा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। विमान अल्बुकर्कीबाट एरिजोनाको अपाचे काउन्टीस्थित सानो विमानस्थलतर्फ उडिरहेको थियो।
दुर्घटनाको कारण स्पष्ट नभएको र यसबारे संघीय उड्डयन प्रशासन (FAA) तथा राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले अनुसन्धान गर्ने जनाइएको छ।
CSI एभिएसनले अनुसन्धानमा सहयोग पुर्याउने र पीडितका परिवारलाई आवश्यक सहयोग गर्ने योजना बनाएको जनाएको छ।