अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम
- २१ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाले अफ्रिकाका दुई मुलुकका नागरिकलाई लक्षित गर्दै नयाँ भिसा नियम लागू गर्ने घोषणा गरेको छ। अब मलावी र जाम्बियाका नागरिकले टुरिस्ट वा व्यापारिक प्रयोजनका लागि बी-१/बी-२ भिसा आवेदन गर्दा “१५,००० अमेरिकी डलर धरौटी” राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो १२ महिनाको ‘पाइलट प्रोग्राम’ हो, जसको उद्देश्य भिसा अवधि सकिएर पनि अमेरिका बसिरहने (‘ओभरस्टे’) प्रवृत्तिलाई रोक्नु हो।
यो नियम त्यस्ता देशहरूमा लागू हुने बताइएको छ, जहाँ भिसा अवधि उल्लङ्घनको दर उच्च छ र आवश्यक तथ्यांक अपुग हुने गर्छ। धरौटी रकम भने अमेरिका भ्रमणपछि फिर्ता गरिनेछ।
अमेरिकी गृह सुरक्षा विभागका तथ्यांकअनुसार, सन् २०२३ मा मलावीका १४% र जाम्बियाका ११% भिसाधारीहरूले समयसीमा नाघेका थिए। तुलनात्मक रूपमा हेइटी (३१%), म्यान्मार (२७%) र यमन (२०%) मा यो दर अझै उच्च छ।
यो कदम पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पहिलो दिनमै हस्ताक्षर गरिएको कार्यकारी आदेशअनुसार आएको हो। ट्रम्प प्रशासनले यसअघि पनि केही देशका आप्रवासी सहायता कार्यक्रमहरू स्थगित गरेको, १२ देशका नागरिकमाथि सम्पूर्ण यात्रा प्रतिबन्ध र सात देशमा आंशिक प्रतिबन्ध लगाएको, साथै सयौँ विदेशी विद्यार्थीको भिसा खारेज गरेको छ।
विदेश मन्त्रालयले स्पष्ट पारेको छ कि यो नियम “अमेरिकी हितविपरीत गतिविधिमा संलग्न” वा ओभरस्टे दर उच्च रहेका मुलुकका भिसा आवेदकलाई मात्रै लागू हुनेछ।