न्यूयोर्कमा ९/११ का तीन थप पीडितको पहिचान
- २३ साउन २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- वर्ल्ड ट्रेड सेन्टरमा सन् २००१ मा भएको ९/११ आतङ्कवादी आक्रमणका तीन थप पीडितको पहिचान गरिएको न्यूयोर्क सिटी अधिकारीहरूले बिहीबार जनाएका छन्।
नवपहिचान भएका पीडितहरूमा फ्लोरल पार्क, न्यूयोर्कका रायन फिज्जेराल्ड, पाम स्प्रिङ्स, क्यालिफोर्नियाकी बारबरा कीटिङ र परिवारको अनुरोधमा नाम सार्वजनिक नगरिएकी एक महिला छन्।
मुख्य चिकित्सक कार्यालयका अनुसार उनीहरूको पहिचान परिवारसँगको सम्पर्क र आधुनिक डीएनए परीक्षणमार्फत गरिएको हो। कीटिङ र ती महिलाको अवशेष २००१ मै फेला परेको थियो भने फिज्जेराल्डको २००२ मा भेटिएको थियो।
यससँगै ९/११ का पहिचान भएका मृतकको संख्या १,६५३ पुगेको छ। अझै करिब १,१०० जनाको पहिचान हुन बाँकी रहेको छ।
९/११ आक्रमणमा २,९७७ जनाको मृत्यु भएको थियो, जसमा २,७५३ जना न्यूयोर्क सिटीमै थिए।