न्यूजर्सीको अबेधी समुद्र किनारमा डुबेर – एकको मृत्यु, चारकाे उद्धार
- २८ साउन २०८२
- १ मिनेटको पढाई
न्यूजर्सी — सोमबार बेलुकी न्यू जर्सीको जर्सी शोरमा एकै परिवारका पाँच जना समुन्द्रको चपेटामा परेपछि उद्धार टोलीले पानीबाट निकाल्दा एक जनाको ज्यान गएको छ।
सीसाइड हाइट्स प्रहरीका अनुसार ११ अगस्ट साँझ करिब ७ बजे लाइफगार्ड ड्युटी सकिएको केही समयमा ती परिवारका सदस्यहरू रिप करेन्टमा फसेका थिए। फायर डिपार्टमेन्टको महासागर उद्धार टोलीले जेटस्कीमार्फत पाँचै जनालाई निकाल्यो।
उद्धार गरिएका मध्ये तीन जनालाई अस्पताल लगिएको थियो, तर ३१ वर्षीय ट्रेन्टनका एक पुरुषको मृत्यु भयो। अधिकारीहरूका अनुसार घटना भएको बेला उनीहरू सुरक्षारहित (लाइफगार्ड नभएको) समुद्र किनारमा पौडी खेलिरहेका थिए।
यो घटना अघिल्लो सप्ताहन्तको केही दिनमै भएको हो, जब १२ जना मानिस पनि उस्तै किसिमको रिप करेन्टमा फसेर उद्धार गरिएका थिए।
लगातार यस्ता घटनापछि सीसाइड हाइट्स नगरले सुरक्षाका नियम कडाइ गर्ने भएको छ। अबदेखि समुद्र किनारको गेट लाइफगार्ड ड्युटी समाप्त भएलगत्तै, अवस्थाअनुसार, कम्तीमा एक घण्टा अघि नै बन्द गरिनेछ।
– सुरक्षारहित समुद्र किनारमा प्रहरीको गस्ती बढाइनेछ।
– चेतावनी दिएपछि पुनः पानीमा पसेका व्यक्तिलाई जरिवाना गरिनेछ।
– चेतावनी बोर्डहरू अंग्रेजीका साथै स्पेनी भाषामा पनि राखिनेछन्।
“सागरतट बन्द गर्दा केही मानिस रिसाउन सक्छन्, तर ज्यान गुमाउनु भन्दा रिसाउनु राम्रो,” मेयर एन्थोनी भाजले भने।
अधिकारिहरूका अनुसार रिप करेन्ट (समुन्द्री बगालो) कुनै पनि समयमा हुन सक्छ, मौसम पूर्वानुमानमा जोखिम कम देखाइए पनि सावधानी आवश्यक छ।