एनवाइसी मेयर दौडमा प्रतिद्वन्द्वीहरूका लागि संकट, ममदानी अग्रस्थानमा
- २८ साउन २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क – न्यूयोर्क सिटीका डेमोक्र्याटिक मेयर पदका उम्मेदवार जोहरान ममदानी नयाँ सर्वेक्षणमा ठुलो अग्रता कायम राखेका छन्। सिएना संस्थाले गरेको हालको सर्वेक्षणअनुसार ममदानीले ४४% समर्थन पाएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा दौडिरहेका पूर्व गभर्नर एन्ड्र्यू कुओमो २५% मा छन्, रिपब्लिकन कर्टिस स्लिवा १२% मा र विद्यमान मेयर एरिक एडम्स ७% मा छन्।
सर्वेक्षणकर्ता स्टिभेन ग्रिनबर्गका अनुसार सहरका डेमोक्र्याट मतदाताहरूले ममदानीलाई कुओमो भन्दा ५३-३२% ले प्राथमिकता दिएका छन्, जबकि रिपब्लिकन मतदाताहरूको दुई-तिहाइभन्दा बढीले स्लिवालाई समर्थन गरेका छन्। स्वतन्त्र मतदाताहरू भने विभाजित देखिएका छन्-३०% ले ममदानीलाई र २०% ले एडम्सलाई समर्थन गरेका छन्।
३५ वर्षमुनिका मतदाताहरू ममदानीतर्फ स्पष्ट रूपमा झुकेका छन् भने ५५ वर्षमाथिका मतदाताहरू ३८-३२% ले कुओमोको पक्षमा छन्। यो पहिलोपटक ममदानी सिएना सर्वेक्षणमा समावेश भएका हुन् र उनले सहरभित्र ४६-३२% को सकारात्मक छवि पाएका छन्।
तर कुओमोको छवि भने गम्भीर रूपमा बिग्रिएको छ। सहरमा उनको समर्थन दर ३७-५४% छ भने राज्यभर २९-६१% मा झरेको छ, जुन सिएना सर्वेक्षणमा अहिलेसम्मकै खराब हो। एडम्सको छवि पनि कमजोर छ—सहरमा ३०-५८% र राज्यभर २२-५१%।
यो दौडलाई राष्ट्रव्यापी रूपमा ध्यानपूर्वक हेरिएको छ, विशेषगरी ममदानीले प्राथमिकमा कुओमोमाथि जित निकालेर ठूलो ‘अपसेट’ मच्चाएपछि। उनले हाल सहरभरि ‘एन्टि-ट्रम्प’ अभियान चलाईरहेका छन्, जसमा वाशिङ्टन डी.सी.बाट आएको नीतिहरूको लागतबारे जनचेतना फैलाउने बताएका छन्।
चुनाव नोभेम्बर ४ मा हुनेछ, जसले यसलाई यो वर्षका केही प्रमुख ‘अफ-इयर’ निर्वाचनमध्ये एक बनाएको छ।