काठमाडौं– “नियमित स्वास्थ्य परीक्षण गरौँ, सम्भावित स्वास्थ्य जोखिमबाट बचौँ” भन्ने मूल नारासहित फास्ट फुड एसोसिएसन नेपालले बृहत स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ
संस्थाका महासचिव राकेश श्रेष्ठका अनुसार श्रावण २७ गतेदेखि ३० गतेसम्म मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूमा बृहत स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको हो।
चार दिने उक्त कार्यक्रममा २८१ जना फास्ट फुड व्यवसायीहरूको होलबडी चेक अप गरिएको छ। कार्यक्रमको अध्यक्षता एसोसिएसनका अध्यक्ष होमराज श्रेष्ठले गरेका थिए भने कार्यक्रम संयोजन स्वास्थ्य विभाग प्रमुख तथा कार्यक्रम संयोजक कुमार भण्डारीले गरे।
कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका समिति सदस्यहरू तथा श्रमिकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य परीक्षण सेवाबाट व्यवसायीहरू लाभान्वित भएको जानकारी दिँदै महासचिव राकेश श्रेष्ठले मनमोहन मेमोरियल शिक्षण अस्पतालप्रति आभार व्यक्त गरेका छन्।
अस्पताल सेवा सम्बन्धी सम्झौतामा सहमति
फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच अस्पतालमा प्रदान गरिने सेवा सम्बन्धी सम्झौता भएको महासचिव श्रेष्ठले जानकारी दिए।
सम्झौताअनुसार “नियमित स्वास्थ्य परीक्षण, सिया ल्याब, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, ईकोसहित सम्पूर्ण स्वास्थ्य परीक्षण, साथै आईसीयू, भेन्टिलेटर, अपरेसन लगायत अस्पतालमा उपलब्ध सम्पूर्ण सेवामा” फास्ट फुड एसोसिएसन अन्तर्गतका व्यवसायी सदस्य, फास्ट फुड रेस्टुरेन्ट व्यवसायी, शेयर सदस्य, व्यवसायीका परिवार, श्रमिक तथा फास्ट फ्यान नेपालबाट सिफारिस प्राप्त व्यक्तिहरूलाई विशेष छुटमा सेवा प्रदान गरिने श्रेष्ठले बताए।
उक्त सम्झौतामा फास्ट फुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठ र मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष डा. एन. शर्मा बीच सम्झौता आदान–प्रदान गरिएको हो। सम्झौतामा एसोसिएसनका तर्फबाट उपाध्यक्ष रामकाजी भण्डारी, महासचिव राकेश श्रेष्ठ, सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार भण्डारी तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. मुझ श्रेष्ठ, मेडिकल डाइरेक्टर डा. निराजन सुवेदीले समेत हस्ताक्षर गरेका छन्।