न्युयोर्कमा पर्यटक बस दुर्घटना : पाँचजनाको मृत्यु, कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी समेत
- ०८ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- पश्चिम न्युयोर्कमा शुक्रबार भएको पर्यटक बस दुर्घटनामा मृत्यु भएका पाँचजनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।
मृतकमध्ये भारतका ६५ वर्षीय शंकर कुमार झा, न्यु जर्सीकी ६० वर्षीया पिंकी चाङ्ग्रानी, चीनकी २२ वर्षीया कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी सिए होङ्जुओ, न्यु जर्सीका झाङ सियाओलान (५५) र जियान मिङ्ली (५६) रहेको न्युयोर्क राज्य प्रहरीले जनाएको छ।
नियाग्रा फल्सबाट न्युयोर्क सहरतर्फ जाँदै गरेको बस बफेलो नजिक इन्टरस्टेट राजमार्गमा पल्टिँदा दुर्घटना भएको हो। बसमा चालक र गाइडसहित ५४ जना सवार थिए। केही यात्रु बसबाट बाहिर फ्याँकिएका वा बसमुनि च्यापिएका थिए।
दर्जनौं घाइते उपचाररत छन्, जसमा बालबालिकासमेत रहेका छन्। इरी काउन्टी मेडिकल सेन्टरले २१ घाइतेमध्ये १४ जना अझै अस्पतालमा रहेको र अवस्था स्थिर रहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ५५ वर्षीय चालक बिन साओ ‘ध्यान भंग’ भएर नियन्त्रण गुमाएको बताइएको छ। चालक मादक पदार्थको प्रभावमा नभएको र बसमा प्राविधिक खराबी नभएको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले दुर्घटनाबारे विस्तृत अनुसन्धान थालेको छ भने चालकको थकाइ, ध्यान भंग, योग्यता, बसको अवस्था र सडक संरचना जस्ता पक्ष अध्ययन गरिने जनाएको छ।
कोलम्बिया विश्वविद्यालयले आफ्नी विद्यार्थीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै उनको परिवारलाई सहयोग गर्ने जनाएको छ।