इलिनोइसका गभर्नर : ट्रम्पको शिकागोमा सैनिक पठाउने योजना ‘सत्ताको दुरुपयोग’
- ०८ भदौ २०८२
- १ मिनेटको पढाई
वासिङटन- राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागोमा राष्ट्रिय गार्ड तैनाथ गर्ने योजनालाई इलिनोइसका डेमोक्र्याट गभर्नर जे.बी. प्रिट्जकरले असंवैधानिक सत्ताको दुरुपयोग भएको बताएका छन्।
प्रिट्जकरले शुक्रबार जारी गरेको वक्तव्यमा इलिनोइसमा सैनिक पठाउनुपर्ने आपतकालीन अवस्था नरहेको दाबी गर्दै ट्रम्प ‘कृत्रिम सङ्कट सिर्जना गर्न खोजिरहेका छन्’ भनेका छन्।
यसअघि ट्रम्पले वासिङ्टन डीसीमा करिब २,००० सैनिक परिचालन गरिसकेका छन्। शिकागो र न्युयोर्क—दुवै डेमोक्र्याट नेतृत्त्वमा रहेका सहर—मा पनि सो नीति लागू गर्ने बताएका छन्।
शिकागोका मेयर ब्रान्डन जोन्सनले भने शहरले संघीय सरकारबाट कुनै आधिकारिक जानकारी नपाएको बताए। उनले सैनिक परिचालनलाई ‘अनावश्यक, असम्बद्ध र असुरक्षित’ भन्दै यसले अपराध नियन्त्रणका प्रयासमा अवरोध गर्ने र जनताको अविश्वास बढाउने चेतावनी दिएका छन्।
यसैबीच, रक्षा मन्त्री पिट हेगसेथले डीसीमा तैनाथ गार्डलाई हतियारसहित गस्ती गर्न आदेश दिएका छन्। तर स्थानीय सरकार र सर्वसाधारणबीच यो कदम अत्यन्त अप्रिय देखिएको छ।
ट्रम्प प्रशासनले यसलाई ठूलो सफलता बताउँदै शिकागोमा समेत विस्तार गर्ने संकेत दिएको छ। ट्रम्पले वासिङ्टनलाई पहिले ‘नरकजस्तै’ भन्दै अहिले ‘पूर्ण सुरक्षित’ भएको दाबी गरेका छन्।
तर स्थानीय अधिकारीहरूले अपराधदर घटिरहेको बताउँदै संघीय हस्तक्षेपको आवश्यकता नरहेको तर्क गरेका छन्। पछिल्लो सर्वेक्षणअनुसार डीसीका करिब ८०% बासिन्दाले सैनिक तैनाथी र संघीय नियन्त्रणको विरोध गरेका छन्।