२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

वाइट हाउसमा ‘Trump 2028’ टोपी : ट्रम्पको तेस्रो कार्यकाल संकेत?

वाइट हाउसमा ‘Trump 2028’ टोपी : ट्रम्पको तेस्रो कार्यकाल संकेत?

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाइट हाउसको वेस्ट विंगमा आफ्नै राजनीतिक प्रचारसामग्री (मर्चेन्डाइज) कोण स्थापना गरेका छन्। उक्त ‘MAGA’ कोणमा टोपी, कपलिङ्क, स्कार्फ, बोतलजस्ता वस्तुहरू प्रदर्शनमा राखिएका छन्। तीमध्ये “Trump 2028” लेखिएको रातो टोपले विशेष ध्यान तानेको छ।

उक्त टोप देखिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा–विवाद भएको छ। कतिपयले यसलाई ट्रम्पको सम्भावित तेस्रो राष्ट्रपतीय उम्मेदवारीको संकेतका रूपमा व्याख्या गरेका छन्। यद्यपि अमेरिकी संविधानको २२औँ संशोधनले कुनै व्यक्तिलाई दुईपटकभन्दा बढी राष्ट्रपति पदमा निर्वाचित हुन नदिने स्पष्ट व्यवस्था गरेको छ।

ट्रम्पका समर्थकहरू भने विभिन्न कानुनी व्याख्या गर्दै ट्रम्प पुनः सत्तामा फर्किन सक्ने सम्भावनाको कुरा उठाइरहेका छन्। कोहीले उपराष्ट्रपतिका रूपमा उम्मेदवारी दिने र राष्ट्रपतिको राजीनामा पश्चात् फेरि राष्ट्रपति बन्न सक्ने सम्भावना देखाउँछन् भने, अरूले गैर–लगातार कार्यकाल (non-consecutive terms) का आधारमा २०२८ मा उम्मेदवारी दिन सक्ने दाबी गर्छन्।

ट्रम्पले आफैं पनि कहिले तेस्रो कार्यकाल खोज्ने संकेत गरेका छन् भने कहिले चार वर्षपछि अर्को “महान रिपब्लिकन” नेतासम्म सत्ता हस्तान्तरण गर्ने बताउँछन्। तर यिनै दोहोरो सन्देशबीच वाइट हाउसमै ‘Trump 2028’ टोप राखिनु धेरैका लागि राजनीतिकरूपमा अस्वाभाविक र नैतिकरूपमा विवादास्पद ठहरिएको छ।

राजनीतिक आलोचना बीच ट्रम्पको व्यापारिक शैली भने निरन्तर जारी छ — बाइबलदेखि घडी, क्रिप्टोकरन्सी, परफ्युमसम्म उनले आफ्नो नाममा उत्पादन बिक्री गर्दै आएका छन्, जसबाट करोडौं डलर आम्दानी भएको विवरण सार्वजनिक भइसकेको छ।