बाल्टिमोरमा सैनिक पठाउने चेतावनी : ट्रम्प र गभर्नर मूरबीच विवाद तीव्र
- ०९ भदौ २०८२
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्टिमोर शहरमा अपराध नियन्त्रणका लागि सैनिक पठाउने धम्की दिएका छन्। यो कदमले उनलाई म्यारिल्यान्डका डेमोक्र्याट गभर्नर वेस मूरसँग प्रत्यक्ष टकरावमा पुर्याएको छ।
मूरले ट्रम्पलाई बाल्टिमोरमा “सुरक्षा भ्रमण” गर्न निम्तो दिएका थिए। त्यसको जवाफमा ट्रम्पले सामाजिक सञ्जालमार्फत “यदि गभर्नरलाई सहयोग चाहिन्छ भने म तुरुन्तै सैनिक पठाएर अपराध सफा गर्छु” भन्दै आलोचना गरेका हुन्।
ट्रम्पले यसअघि पनि वाशिङ्टन डीसीमा करिब २,००० सैनिक उतारेका छन्, जसले अहिले हतियार बोकेर गस्ती सुरु गरिसकेका छन्। आगामी हप्तामा १९ राज्यमा करिब १,७०० सैनिक परिचालन हुने बताइएको छ। तर डेमोक्र्याट नेताहरूले यसलाई “शक्ति दुरुपयोग” भन्दै कडा विरोध गरिरहेका छन्।
ट्रम्पले वाशिङ्टनलाई “पहिले नर्कजस्तो, अहिले सुरक्षित” भनेका छन्। तर आधिकारिक तथ्यांकअनुसार डीसीमा २०२४ मा हिंसात्मक अपराध ३० वर्षकै न्यूनतम स्तरमा झरेको छ र २०२५ मा अझै घटिरहेको छ।
गभर्नर मूरले ट्रम्पका अभिव्यक्तिलाई “समुदायलाई नबुझी गरिएको अपमानजनक टिप्पणी” भन्दै आलोचना गरेका छन्। उता इलिनोइसका गभर्नर जेबी प्रित्जकर र हाउस माइनोरिटी लिडर हाकिम जेफ्रिजलगायत डेमोक्र्याट नेताहरूले पनि सैनिक प्रयोगको कानुनी आधार नै नभएको बताएका छन्।
एक पछिल्लो सर्वेक्षणमा बाल्टिमोरका करिब ८०% बासिन्दाले संघीय अधिकारी वा नेशनल गार्ड तैनाथीको विरोध गरेका छन्।