ट्रम्पसँगको भेटमा दक्षिण कोरियाली राष्ट्रपतिको ‘प्रशंसा रणनीति’
- १० भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच वाशिङ्टनमा भेटवार्ता सम्पन्न भयो। भेटअघि ट्रम्पले दक्षिण कोरियामा “सफाया वा क्रान्ति” जस्तो अवस्था भएको भन्दै आलोचना गरेका थिए। तर ओभल अफिसमा पुगेपछि लीले संयमित र चाप्लुसीपूर्ण रणनीति अपनाउँदै ट्रम्पको व्यक्तिगत सम्बन्ध, विशेषगरी उत्तर कोरियाली नेता किम जङ उनसँगको नाताको प्रशंसा गरे।
लीले ट्रम्पलाई “पीसमेकर” बन्न सक्ने व्यक्ति भन्दै समर्थन जनाए र ठट्टै गर्दै उत्तर कोरियामा ‘ट्रम्प टावर’ र गोल्फ खेल्ने भविष्यको कल्पना पनि प्रस्तुत गरे। यसरी उनले सम्भावित तनावलाई टारे पनि व्यापार र प्रतिरक्षासम्बन्धी मुख्य मुद्दामा ठोस प्रगति भएन।
व्यापारमा दक्षिण कोरियाले अमेरिकासँग ३५० अर्ब डलर लगानी गर्ने सहमति जनायो, जसअन्तर्गत १५० अर्ब डलर अमेरिकी पानीजहाज निर्माण उद्योगमा जानेछ। कोरियन एअरले बोइङसँग १०३ विमान खरिद गर्ने घोषणा पनि गर्यो। तर ट्यारिफ तत्काल घट्ने देखिँदैन।
प्रतिरक्षा विषयमा पनि स्पष्ट सहमति भएन। ट्रम्पले दक्षिण कोरियालाई सुरक्षा सुविधा उपभोग मात्र गर्ने तर पर्याप्त खर्च नगर्ने आरोप दोहोर्याए। उनले संयुक्त रूपमा सञ्चालित ओसन हवाई अड्डाको जमिन अमेरिकाको स्वामित्वमा हुनुपर्ने कुरा पनि उठाए।
ट्रम्पले अमेरिका–दक्षिण कोरियाबीच आपसी आवश्यकताको कुरा गर्दै आर्थिक सहकार्यबारे आश्वासन भने दिए।