२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

लिपुलेक विवाद : भारतीय विज्ञद्वारा नेपालको नक्सा ‘असान्दर्भिक’ टिप्पणी, नेपालले कूटनीतिक प्रतिवाद जारी

लिपुलेक विवाद : भारतीय विज्ञद्वारा नेपालको नक्सा ‘असान्दर्भिक’ टिप्पणी, नेपालले कूटनीतिक प्रतिवाद जारी

काठमाडौं- भारत–चीनबीच लिपुलेक नाकामार्फत व्यापार पुनः सुरु गर्ने समझदारी भएपछि नेपालले असन्तुष्टि जनाए पनि भारतीय विज्ञहरूले नेपालको नयाँ नक्सालाई “असान्दर्भिक” भनेका छन्। उनीहरूको भनाइमा, नेपालले २०२० मा एकपक्षीय रूपमा नक्सा संशोधन गरेपछि सीमा विवाद जटिल बनेको छ र भारत यसबारे वार्तामा बस्ने सम्भावना कम छ।

भारतका पूर्वकूटनीतिज्ञ एस.डी. मुनीले “दिल्लीले यो विषय नेपालसँग उठाउने छैन” भनेका छन्। भारतीय सेनाका अवकाशप्राप्त मेजर जेनरल अशोक मेहताले नेपालले गरेको नक्सा विस्तारलाई दिल्लीले मान्यता नदिएको र कतिपय अधिकारीहरूले यसलाई “मृत मुद्दा” ठानेको बताएका छन्। चीनले समेत लिपुलेकलाई भारत–चीनबीचको व्यापारिक मार्गका रूपमा स्वीकार गर्दै भारतको अडानलाई समर्थन गरेको देखिन्छ।

यसैबीच एमाले महासचिव शङ्कर पोखरेलले लिपुलेक नेपालको भूभाग भएकाले भारत–चीनले नेपाललाई समेटेर मात्रै निर्णय गर्नुपर्ने बताए। उनले सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वको क्षेत्र नेपालकै भएको दाबी गर्दै भारतको दृष्टिकोणलाई “त्रुटिपूर्ण” भने।

विशेषज्ञहरूले भने संविधान संशोधन गरेर नक्सा जारी गरिएकाले सीमा वार्ता अझ जटिल बनेको र तत्काल समाधान सम्भव नदेखिएको टिप्पणी गरेका छन्। तर नेपालभित्र सत्ता पक्ष र प्रतिपक्ष दुबै नेताहरूले कूटनीतिक वार्तामार्फत सीमाविवाद हल गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन्।