दिव्यधाम मन्दिरमा हरितालिका तीज पर्व भव्य रूपमा सम्पन्न
- १२ भदौ २०८२
- २ मिनेटको पढाई
न्युयोर्क- दिव्यधाम मन्दिरमा हरितालिका तीज पर्व भव्यता र हर्षोल्लासका साथ सम्पन्न भएको छ। करिब ८०० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जीवन्त सांस्कृतिक प्रस्तुति र विविधतापूर्ण कार्यक्रमले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो।
रंगीन परम्परागत पोशाकमा सजिएका महिलाहरुको ठूलो सहभागिताले वातावरणलाई झनै उत्साहपूर्ण र आकर्षक बनाएको थियो। तीज हिन्दू धर्मावलम्बी महिलाहरुले विशेष रूपमा मनाउने चाड हो, जसमा देवी पार्वतीको दृढ साधना र भगवान् शिवसँगको मिलनको स्मरण गरिन्छ। यस दिन महिलाहरुले आफ्ना पति वा परिवारजनको दीर्घायु र स्वस्थ जीवनको कामना गर्दै व्रत बस्ने, गीत गाउने, नाच्ने र प्रार्थना गर्ने परम्परा रहिआएको छ।
कार्यक्रममा त्रिवेणी Entertainment LLC का संस्थापक नवराज केसीले नेपाली सांस्कृतिक परम्पराको सम्मान र संरक्षणका लागि आफ्नो संस्था निरन्तर प्रतिबद्ध रहेको बताएका थिए। नेपाली पात्रोअनुसार साउन–भदौ महिनामा पर्ने तीज पर्व एक महिनासम्म चल्ने बिदा र उत्सवहरूको श्रृंखलाको हिस्सा हो।
सो अवसरमा परम्परागत नेपाली लोकगीत, नृत्य, गायन तथा स्वादिष्ट नेपाली परिकारले सहभागीलाई नेपालीपनको गहिरो अनुभूति गराएको थियो। कार्यक्रममा सबै उपस्थितले सांस्कृतिक प्रदर्शनको भरपुर आनन्द लिएका थिए, जसले उत्सवलाई अझ आकर्षक र जीवन्त बनाएको थियो।
त्रिवेणी Entertainment LLC र दिल कुमारी मेमोरियल फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको यस कार्यक्रमलाई सहज, जीवन्त र अविस्मरणीय बनाउन विशेष व्यवस्था गरिएको थियो। सहभागीहरूले सामुदायिक भावना र एकताको उदाहरण प्रस्तुत गरेका थिए।
आयोजक खामलाल भट्टले महिलाका लागि आयोजना गरिएको यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिदै खुसी ब्यक्त गरेका थिए। सोही अवसरमा ८०० भन्दा बढी महिलाका लागि खाना व्यवस्थापनमा सहयोग पुर्याउने स्वयंसेवकहरूको योगदानको प्रशंसा गरिएको थियो।
कार्यक्रम आयोजकको तर्फबाट हेलो अमेरिकाका सम्राट कार्कीलाई विशेष धन्यवाद दिइएको थियो। साथै, सहयोगी दाताहरू, मिडियाकर्मी, कलाकार र स्वयंसेवक सबैलाई यस भव्य कार्यक्रम सफल बनाउन दिएको योगदानका लागि हृदयदेखि आभार प्रकट गरिएको थियो।
बेगम पण्डित,न्युयोर्क संवाददाता