न्युयोर्क- संघीय रिजर्भ (Fed) को गर्भनर लिसा कुकलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमविरुद्ध उनको कानुनी लडाइँ शुक्रबार वासिङ्टन डीसीको संघीय अदालतमा सुरु भयो।
दुई घण्टाभन्दा बढी चलेको सुनुवाइपछि पनि न्यायाधीशले अस्थायी आदेश दिने वा नदिने विषयमा तत्काल निर्णय गरेका छैनन्। कुकले आफूलाई पदच्युत हुनबाट रोक्न “आपतकालीन अस्थायी प्रतिबन्ध आदेश” माग गरेकी छिन्।
न्यायाधीश जिया कोबले सुनुवाइको सुरुवातमै भने, “यो मुद्दाले संघीय रिजर्भ बोर्डसँग सम्बन्धित गम्भीर प्रश्नहरू उठाएको छ।” उनले फेडलाई अन्य सरकारी निकायभन्दा फरक र विशिष्ट संस्थानका रूपमा औंल्याइन्।
कुक, जो फेडको गर्भनर बोर्डमा नियुक्त पहिलो अश्वेत महिला हुन्,लाई यसै हप्तादेखि ट्रम्प प्रशासनले हटाउने घोषणा गरेको थियो। ट्रम्पले उनलाई हटाउने आधारका रूपमा मोर्गेज (गिरवी ऋण) सम्बन्धी धाँधलीको आरोप देखाएका छन्। तर कुकलाई कुनै अपराधमा अभियोग लगाइएको छैन।
कुकको कानुनी टोलीले अदालतमा भन्यो: “उनलाई हटाउन कुनै अनुसन्धान वा मुद्दा नै नभएको अवस्थामा मात्र राजनीतिक दबाब सिर्जना गरिएको हो।”
ट्रम्पले भने मन्त्रीपरिषद बैठकमा खुलेर भनेका थिए — “हामी छिट्टै बहुमतमा पुग्नेछौँ, जुन उत्कृष्ट हुनेछ।” यसबारे न्यायाधीश कोबले पनि ट्रम्पको प्रत्यक्ष टिप्पणीलाई “असहज” र चिन्ताजनक भनेकी छिन्।
फेडको स्वतन्त्रता प्रश्नमा
यो विवाद केवल कुकको भविष्य मात्र नभई फेडको स्वतन्त्रता प्रश्नमा पनि जोडिएको छ। फेडलाई विश्वकै सबैभन्दा महत्वपूर्ण केन्द्रीय बैंक मानिन्छ जसले महँगाइ नियन्त्रण गर्ने र रोजगारीको अवस्था मजबुत राख्ने जिम्मेवारी पाउँछ।
यदि कुकलाई हटाउन ट्रम्प सफल भए भने, यो एक महिनाभित्रै फेड बोर्डमा दोस्रो रिक्त स्थान हुनेछ र ट्रम्पलाई बोर्डलाई आफ्नो पक्षअनुकूल ढाल्ने मौका मिल्नेछ।
आरोप र बचाउ
ट्रम्प प्रशासनका एक नियुक्त अधिकारी, फेडरल हाउजिङ फाइनान्स अथोरिटीका निर्देशक बिल पल्टेले कुकविरुद्ध मोर्गेज धाँधली गरेको आरोप लगाएका छन्। उनले न्याय विभागलाई “दोस्रो आपराधिक सिफारिस” पनि पठाएको बताएका छन्।
तर कुकको कानुनी टोलीले यी आरोपलाई “सामाजिक सञ्जालमार्फत फैलाइएको राजनीतिक प्रपञ्च” मात्र भएको दाबी गरेको छ। उनका वकिलहरूले भने, “यस्ता अपुष्ट र अस्पष्ट आरोपले गर्भनर कुकलाई हटाउने कुनै आधार बन्दैन।”
कानुनी चुनौती
कुकले दायर गरेको व्यापक मुद्दामा उनले ट्रम्पको २५ अगस्ट २०२५ मा गरेको बर्खास्ती आदेशलाई गैरकानुनी घोषित गर्न माग गरेकी छिन्। साथै, “गर्भनरको नियुक्ति हुनु अघि गरिएको भनिएको अपुष्ट मोर्गेज धाँधलीलाई पदबाट हटाउने ‘कारण’ मान्न नमिल्ने” स्पष्ट व्याख्या गर्न पनि अदालतसँग माग गरेकी छन्।
संघीय रिजर्भ ऐनअनुसार, गर्भनरलाई पदच्युत गर्न केवल “कारण देखाएर” मात्र सकिन्छ, जसलाई सामान्यतया प्रमाणित अनुचित काम वा भ्रष्टाचारका रूपमा बुझिन्छ। तर ट्रम्पको पत्रमा भने केवल कुकले “शायद झुटा विवरण दिएको हुनसक्छ” भन्ने उल्लेख छ।