बेइजिङ सैन्य परेडमा किम–पुटिनको उपस्थिति, चीन–रुस–उत्तर कोरिया गठबन्धनको सङ्केत
- १५ भदौ २०८२
- १ मिनेटको पढाई
तियानजिन- चीनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औँ वर्षगाँठका अवसरमा बेइजिङको तिआन्अन्मेन स्क्वाएरमा विशाल सैन्य परेड आयोजना गर्दैछ। परेडमा परमाणु क्षेप्यास्त्र, ट्याङ्क र आधुनिक लडाकु विमानसहित चीनले आफ्नो सैन्य शक्ति देखाउनेछ।
तर ध्यान युद्ध प्रविधिमात्र नभई उत्तर कोरियाली नेता किम जङ अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनतर्फ केन्द्रित छ। उनीहरू राष्ट्रपति सी जिन्पिङको पाहुनाका रूपमा परेडमा सहभागी हुँदैछन्। यो ६० वर्षयता पहिलोपटक उत्तर कोरियाली नेता चिनियाँ सैनिक परेडमा देखिँदैछन्।
विश्लेषकहरूको भनाइमा, किमले चीनसँग आर्थिक सहयोग र पर्यटनका लागि चिनियाँ समर्थन खोज्नेछन् भने पुटिनले पश्चिमी प्रतिबन्धबीच अन्तर्राष्ट्रिय मान्यता प्रदर्शन गर्ने प्रयास गर्नेछन्। सी, पुटिन र किमबीचको उपस्थितिलाई सम्भावित चीन–रुस–उत्तर कोरिया गठबन्धनको संकेतका रूपमा हेरिएको छ।
परेडमा २६ राष्ट्राध्यक्ष सहभागी हुनेछन् तर ताइवान प्रतिनिधि हुने छैनन्। चीनले यस अवसरलाई आफ्नो सैन्य क्षमता र ‘ग्लोबल साउथ’ को नेतृत्व देखाउने अवसरका रूपमा प्रयोग गर्ने बताइएको छ।