अमेरिकी अदालतद्वारा ट्रम्पलाई निर्वासनका लागि युद्धकालीन कानून प्रयोगमा रोक
- १८ भदौ २०८२
- २ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी सङ्घीय अपिल अदालतले मङ्गलबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भेनेजुएलाका कथित गिरोह सदस्यलाई निर्वासन गर्न युद्धकालीन कानुन प्रयोग गर्ने कदमलाई अस्वीकार गर्दै केही दक्षिणी राज्यमा यसको प्रयोगलाई रोक लगाउने निर्णय सुनाएको छ ।
ट्रम्पले गत मार्च १५ मा पहिलो पटक १७९८ को एलियन एनिमीज एक्ट (एइए) लागु गरेका थिए। सो कानुन अन्तर्गत उनले ट्रेन डे अरागुआ गिरोहका कथित सदस्यलाई दुई विमानमार्फत एल साल्भाडोरको कुख्यात अधिकतम सुरक्षा कारागार सिइसिओटीमा पठाएका थिए।
यो शताब्दीयौँ पुरानो ऐन दोस्रो विश्वयुद्धको समयमा जापानी-अमेरिकी नागरिकलाई हिरासतमा राख्न प्रयोग गरिएको थियो । त्यसयता यसलाई प्रयोग गरिएको थिएन, तर अहिले यसलाई लक्षित गर्दै कानुनी चुनौतीको शृङ्खला सुरु भएको छ । टेक्सास, लुइसियाना र मिसिसिपीमा रहेका आप्रवासीलाई निर्वासन गर्न एइएमा भर पर्न नसक्ने ठहर गर्दै पाँचौँ अमेरिकी सर्किट कोर्ट अफ अपिल्सले मङ्गलबार २-१ मतले फैसला सुनायो ।
न्यायाधीश लेस्ली साउथविकले आफ्नो फैसलामा लेखे, “उपलब्ध तथ्यले आक्रमण वा शिकारी आक्रमण भएको प्रमाणित गर्दैनन् ।” त्यसैले याचिकाकर्ताले एइए अनुचितरूपमा लागू भएको दाबी गर्न सक्ने पर्याप्त आधार रहेको उनले निष्कर्ष निकाले । एइएले युद्धकाल वा ‘आक्रमण वा शिकारी आक्रमण’ को अवस्थामा सरकारलाई शत्रुतापूर्ण राष्ट्रका नागरिकलाई हिरासतमा राख्ने वा निर्वासन गर्ने अधिकार दिन्छ ।
साउथविक र न्यायाधीश इर्मा क्यारिलो रामिरेजको सहमतिमा निष्कासन रोक्ने प्रारम्भिक आदेश जारी गरिएको हो । तर न्यायाधीश एन्ड्र्ययु ओल्डह्यामले भने असहमति जनाउँदै एइएको प्रयोग राजनीतिक निर्णयको विषय भएको टिप्पणी गरे। “राष्ट्रको प्रारम्भदेखि लिएर राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालसम्म, अदालतले कुनै पनि राष्ट्रपतिको एइएको प्रयोगबारे दोस्रो अनुमान लगाएको इतिहास छैन”, ओल्डह्यामले आफ्नो असहमति अभिव्यक्त गर्दै लेखे ।
कानुनी विश्लेषकका अनुसार ट्रम्पको एइएको प्रयोग सम्बन्धी विवाद अन्ततः सर्वोच्च अदालतमा पुग्ने छ । ट्रम्पले आफ्नो राष्ट्रपति अभियानकै क्रममा लाखौँ कागजातविहीन आप्रवासीलाई निर्वासन गर्ने बाचा गरेका थिए। उनका धेरै कार्यकारी आदेशहरूले यस विषयमा देशभरका अदालतबाट चुनौतीको सामना गरेका छन् ।
पदभार सम्हालेपछि उनले मेक्सिको सीमामा सेना पठाएका छन, मेक्सिको र क्यानाडाले अवैध प्रवेश रोक्न पर्याप्त काम नगरेको भन्दै कर लगाउनु भएको छ, साथै ट्रेन डे अरागुआ र एमएस-१३८ जस्ता गिरोहलाई आतङ्कवादी समूहको सूचीमा राखेका छन्।
यसअघि अर्को सङ्घीय अपिल अदालतले गत हप्ता ट्रम्प प्रशासनलाई करिब छ लाख भेनेजुएलालीलाई प्रदान गरिएको अस्थायी संरक्षित स्थिति (टिपिएस) हटाउने निर्णय तत्काल लागु नगर्न आदेश दिएको थियो । प्यु रिसर्च सेन्टरका अनुसार सन् २०२४ मार्चसम्म अमेरिकामा करिब १२ लाख मानिस टिपिएसका लागि योग्य वा प्राप्त गरिरहेका थिए, जसमा सबैभन्दा ठुलो समूह भेनेजुएलाली थिए ।