स्वास्थ्यबारे उठेको प्रश्नपछि ट्रम्पको स्पष्टीकरण: ‘मेरो जीवनमै सबैभन्दा राम्रो अवस्थामा छु
- १८ भदौ २०८२
- १ मिनेटको पढाई
वासिङ्टन – सामाजिक सञ्जालमा “#Trumpdead” ट्रेन्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ओभल अफिसमा देखिँदै आफ्नो स्वास्थ्यबारे उठेको अड्कलबाजीलाई खारेज गरेका छन्।
७९ वर्षीय ट्रम्प केही दिन सार्वजनिक कार्यक्रममा नदेखिएपछि उनको स्वास्थ्यबारे अफवाह फैलिएको थियो। उनले भने, “म लेबर डे वीकेंडमा सक्रिय थिएँ, गोल्फ खेलेँ र सामाजिक सञ्जालमा निरन्तर पोस्ट गरिरहेँ।”
उनको हातमा देखिएको नीलडामका कारण पनि अड्कलबाजी चुलिएको थियो। ह्वाइट हाउसका अनुसार ट्रम्पले नियमित एस्पिरिन सेवन गर्ने र लगातार हात मिलाउने बानीका कारण यस्तो देखिएको हो।
उपराष्ट्रपति जेडी भान्सले हालै दिएको “यदि केही भयो भने म तयार छु” भन्ने अभिव्यक्तिले पनि शंका थपेको बताइन्छ।
ह्वाइट हाउस प्रवक्ता क्यारोलिन लिभिटले अनलाइन हल्लालाई “पागलपन र आधारहीन” भन्दै ट्रम्प पूर्ण रूपमा स्वस्थ रहेको जनाएकी छन्।
यसअघि २०२० मा ट्रम्पलाई मिनी–स्ट्रोक आएको भन्ने हल्ला अस्वीकार गरिएको थियो भने, त्यही वर्ष कोभिड–१९ का कारण तीन दिन अस्पतालमा भर्ना भएका थिए।
सार्वजनिक उपस्थितिपछि हल्ला केही कम भए पनि, मंगलबार साँझ फेरि “#Trumpdead” सामाजिक सञ्जालमा ट्रेन्ड भएको छ।