“शान्ति, जवाफदेहिता र सुशासनका लागि नयाँ बाटो”
- २६ भदौ २०८२
- ३ मिनेटको पढाई
न्युयोर्क- हाम्रो देश नेपाललाई युगान्तकारी परिवर्तनको संघारमा पुर्याउन आन्दोलनरत GEN-Z पुस्तालाई सलाम छ । तपाईँहरूको शहादतको लागि हाम्रो देश कृतज्ञ छ । कलिला होनहार नेपालीले देशका लागि जसरी बलिदान गर्नुभयो, यस क्रममा सयौँ आन्दोलनकारी घाइते पनि भएको अवस्थामा म वीर शहीद आत्माहरूमाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । तर यसको पृष्ठभूमिमा हाम्रा पुस्ताको रगत–पसिनाले बनेका हजारौँ संरचना हामीले गुमायौँ पनि, यो हामी सबै नेपालीका लागि अत्यन्तै दुःखदायी घटना हो । यस घटनाले हामीहरूलाई पुस्तौँ पुस्तासम्म प्रश्न गर्नेछ । नयाँ पुस्ताले यसलाई पुनः निर्माण गर्ने जिम्मा लिनुपर्नेछ ।
यो यदि तपाईँहरूको नेतृत्वको आन्दोलन साँच्चिकै देशका ज्वलन्त समस्यालाई समाधान गर्ने उद्देश्यका लागि हो, देशलाई अझ चुस्त–दुरुस्त र अझ भनौँ “workable” लोकतन्त्रका लागि हो भने, म जस्तो साधारण तर विशुद्ध लोकतान्त्रिक देशप्रेमीको तर्फबाट निम्न सुझाव दिन चाहन्छु ।
१. देशभर तपाईँहरूको नेतृत्वमा शान्ति मार्च निकालौं र हत्या–हिंसा बन्द गराऔँ ।
२. कुनै पनि देश लामो समयसम्म अराजक स्थितिमा रहँदा देश नै असफल हुने, नयाँ तानाशाहीको पुनरागमनको खतरा रहने तथा हाम्रो राष्ट्रियता नै गुम्ने झन् ठूलो खतरा जन्मिन सक्छ । यसबाट देशलाई बचाउन शान्ति र अमनचैन पहिलो सर्त हो ।
३. देशमा विद्यमान समस्याको मूल जड हाम्रो संविधान र निर्वाचन पद्धति हो । हाम्रो संविधान पूर्ण प्रजातान्त्रिक र देशअनुरूप “workable” नभई खर्चिलो भएको छ ।
४. यसका लागि हामीले चुस्त–दुरुस्त, कम खर्चिलो र बढीभन्दा बढी लोकतान्त्रिक र जवाफदेही सरकार बनाउन सक्ने संविधान तथा कम खर्चिलो चुनाव पद्धतिको निर्माण गर्न अविलम्ब पाइला चाल्नु पर्छ ।
५. यसका लागि अविलम्ब अन्तरिम सरकारको गठन गरी नयाँ प्रजातान्त्रिक संविधानको आधारमा अविलम्ब कार्यकारी राष्ट्रपतिको निर्वाचन हुनुपर्छ ।
६. संविधानमा बढीमा १५० जनाको पूर्ण निर्वाचित संसद । निर्वाचित सांसद मन्त्री हुन नपाउने । सांसदले नीतिनिर्माण तथा सरकारको कार्य–कारवाहीको पूर्ण लेखाजोखा गर्न सक्ने सार्वभौम अधिकार सम्पन्न हुने । यसो गर्दा ५०% भ्रष्टाचार कम गर्न सकिने आकलन गर्न सकिन्छ ।
७. यसो गर्दा सांसद हुने होड पनि समाप्त हुनेछ र इमानदार तथा देशप्रेमी नागरिकले मात्र सांसद बन्न खोज्नेछन् ।
८. निर्वाचित राष्ट्रपतिले आफूले चाहेको योग्य नेपाली नागरिकलाई मन्त्री नियुक्त गर्नेछन् ।
९. मन्त्रीहरूको ६ महिनाभित्र संसदले उनीहरूको मूल्याङ्कनअनुसार नियुक्ति पुनरावलोकन गर्नेछ ।
१०. निर्वाचन पद्धति कम खर्चिलो बनाउन हाम्रो निर्वाचन पूर्णतया सामाजिक सञ्जालमा आधारित हुने । कम्तीमा २ पटक प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको बीचमा सम्पूर्ण सामाजिक सञ्जाल तथा सरकारी मिडियामा प्रत्यक्ष बहस गराउने । यस बाहेक अरु केही गर्न नपाइने कडा कानून निर्माण गर्ने हो भने निर्वाचन खर्च करोडौँबाट लाखौँमा झार्न सकिन्छ । जनता सचेत भएको वर्तमान अवस्थामा तामझामपूर्ण निर्वाचनको पूर्ण खारेजी हुनु पर्छ ।
११. राज्यहरूको वर्तमान स्वरूप खारेजी ।
१२. जिल्ला र स्थानीय निकायलाई राजनीतिक र आर्थिक रूपमा अझ सशक्त र अधिकार सम्पन्न बनाउने ।
१३. मुख्य पदमा (पार्टी तथा सरकारमा) २ पटकभन्दा बढी निर्वाचित हुन नपाउने कुरा संविधानमै उल्लेख गर्ने ।
१४. संसदको उपल्लो सदनलाई देशभरका अल्पसंख्यक, जनजाति, पिछडिएका वर्ग, निर्वाचित संसदमा त्यस निर्वाचनमा समेटिन नसकेका तप्का तथा समुदायबाट प्रतिनिधित्व गराउने ।
१५. भ्रष्टाचारको समूल नष्ट गर्न अधिकार सम्पन्न भ्रष्टाचार निवारण आयोग बनाउने । वास्तवमा भ्रष्टाचार माथिबाट तलतिर फैलिन्छ भन्ने धारणा छ । नेतृत्वस्तरमा भ्रष्टाचार नियन्त्रण भए तलतिर सजिलै नियन्त्रण गर्न सकिन्छ ।
१६. स्वतन्त्र न्यायपालिकाका लागि पार्टीविहीन निष्पक्ष रूपमा न्यायाधीशहरूको नियुक्ति गर्ने संयन्त्र बनाउने ।
१७. कर्मचारी वर्गमा भएको ढिलासुस्ती र भ्रष्टाचार हटाउन निष्पक्ष कार्य मूल्याङ्कन, नियन्त्रण र दण्डको उचित व्यवस्था गर्नुपर्छ ।
१८. कृपया यी माथिका बुँदाहरू न्यूनतम “blueprint” हुन् । हाम्रो संविधान, सरकार, कर्मचारी संयन्त्र, न्यायपालिका र हाम्रो कार्यपद्धतिलाई अझ सशक्त, गतिशील, कम खर्चिलो र कार्यक्षम बनाउन हामीबीच गहन विचार–विमर्श हुनु जरुरी छ ।
१९. सुझाव र विमर्शको लागि अनुरोध ।
—- यज्ञ आचार्य