२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

शिकागो नजिकै आव्रजन धरपकडमा एकको मृत्यु, आईस अधिकारी घाइते

शिकागो नजिकै आव्रजन धरपकडमा एकको मृत्यु, आईस अधिकारी घाइते

न्युयोर्क- शुक्रबार बिहान शिकागो क्षेत्रमा भएको आव्रजन धरपकड (इमिग्रेशन अरेस्ट) क्रममा गोली प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको र अमेरिकी आव्रजन तथा सीमा सुरक्षा एजेन्सी (ICE) का एक अधिकारी घाइते भएको छ।

आईस प्रवक्ताका अनुसार फ्र्याङ्कलिन पार्कमा सवारी रोक्ने क्रममा लक्ष्य व्यक्ति प्रतिरोध गर्दै आफ्नो गाडी अधिकारीहरूतर्फ चलाएका थिए। गाडीले एक अधिकारीलाई ठक्कर दिँदै तानेपछि आत्मरक्षार्थ गोली चलाइएको आईसको भनाइ छ। गोली लागेका चालक “सिलभेरियो भिल्लेगास–गोंजालेज” अस्पताल पुर्‍याइएपछि मृत घोषित गरिएको थियो। घाइते अधिकारी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भए पनि स्थिर रहेको जनाइएको छ।

गृह सुरक्षा विभाग (DHS) का अनुसार मृतक व्यक्ति अनिश्चित मितिमा अमेरिकामा प्रवेश गरेका थिए र विगतमा लापरबाहीपूर्वक गाडी चलाउने इतिहास थियो।

घटनापछि संघीय अनुसन्धान निकाय एफबीआईले स्थानीय प्रहरीले सँगसँगै अनुसन्धान गरिरहेको जनाएको छ।

इलिनोइसका गभर्नर “जेपी प्रित्जकर”ले सामाजिक सञ्जालमार्फत घटनाबारे चिन्ता व्यक्त गर्दै पूर्ण तथ्य र पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

यसबीच, स्थानीय सांसद र आव्रजन अधिकारकर्मीहरूले पत्रकार सम्मेलन गर्दै घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। डेमोक्र्याट सांसद “नोरमा हर्नान्डेज”ले आईसको ‘जातीय प्रोफाइलिङ’ र ‘संविधानविपरीतको धरपकड नीति’ले एक समुदाय सदस्यको ज्यान गएको आरोप लगाइन्।

यो घटना आईसले इलिनोइसमा “अपरेसन मिडवे ब्लिट्ज” नामक ठूलो धरपकड अभियान सुरु गरेको हप्तामै भएको हो। सो अभियान विशेषगरी शिकागो क्षेत्रमा केन्द्रीत छ।