२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

प्रदर्शनपछि फरार कैदीबन्दीमध्ये करिब चार हजार पक्राउ, अझै १० हजारभन्दा बढी खोजीमा

प्रदर्शनपछि फरार कैदीबन्दीमध्ये करिब चार हजार पक्राउ, अझै १० हजारभन्दा बढी खोजीमा

काठमाडौं- भदौ २३ र २४ गतेका प्रदर्शनपश्चात् सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये झन्डै चार हजार कैदीबन्दी पक्राउ परेको तर अझै १० हजारभन्दा धेरै फरार रहेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ।

“नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले (आइतवार) मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभयो,” राससले दिएको विवरणमा उल्लेख छ।

कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेको उनले बताएको पनि विवरणमा उल्लेख छ।

साथै कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहने बताए।

गत भदौ २४ गतेको तनावका बीच नक्खु कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिवार कारगार फर्किएका थिए।

कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।