नेपाल र फ्रान्सपछि फिलिपिन्समा पनि सडकमा जनता, भ्रष्टाचारविरुद्ध प्रदर्शन
- ३० भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- नेपाल र फ्रान्सपछि अब फिलिपिन्सका नागरिकहरू पनि सरकारविरुद्ध सडकमा उत्रिएका छन्। राजधानी मनिला लगायत विभिन्न शहरमा हजारौं प्रदर्शनकारीले बाढी नियन्त्रण परियोजनामा भएको भनिएको ठूला स्तरको भ्रष्टाचारविरुद्ध विरोध गरिरहेका छन्।
पछिल्ला केही सातादेखि लगातार प्रदर्शन भइरहेका छन्। आइतबार मात्र फिलिपिन्स विश्वविद्यालय क्याम्पसमा करिब ३ हजार विद्यार्थीले मार्च गरेका थिए।
राष्ट्रपति फर्डिनान्ड मार्कोसले जनताले देखाएको आक्रोशलाई स्वाभाविक भन्दै “यदि मानिसहरू निराश छन्, न्यायको माग गरिरहेका छन् भने त्यो पूर्णतया जायज हो” भनेर प्रतिक्रिया दिएका छन्।
फिलिपिन्समा ३० जना सांसद तथा सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई घुस प्रकरणमा मुछिएको छ। यसमा सभामुख तथा राष्ट्रपतिका काका मार्टिन रोमुआल्डेजको नामसमेत सार्वजनिक भएपनि उनले आरोप अस्वीकार गरेका छन्।
राष्ट्रपतिले छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश एन्ड्रेस रेयेसको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेका छन्। यस्तै, सार्वजनिक निर्माण विभागको प्रतिष्ठा जोगाउन तीन उच्च अधिकारीलाई बर्खास्त गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार, २०२३ देखि २०२५ सम्मका बाढी नियन्त्रण परियोजनामा भएको भ्रष्टाचारका कारण देशको अर्थतन्त्रलाई करिब २ अर्ब डलर नोक्सानी भएको छ।