२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

गाजामा इजरायली कारबाहीको राष्ट्रसङ्घद्वारा कडा निन्दा

गाजामा इजरायली कारबाहीको राष्ट्रसङ्घद्वारा कडा निन्दा

न्युयोर्क- गाजामा पछिल्लो दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजा पट्टीमा ‘चरम भोकमरी र कठिनाइ झेलिरहेका’ नागरिकहरूमा यस वृद्धिको विनाशकारी प्रभाव परेको बताउनुभयो । उनले आफ्नो दैनिक पत्रकार सम्मेलनमा नागरिक र मानवीय कामदारहरूको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आह्वान गरे।

डुजारिकले युएनआरडब्लुईका आयुक्त–जनरल फिलिप लाजारिनीको वक्तव्य उद्धृत गर्दै गाजा सहरमा एजेन्सीसँग सम्बन्धित १० भवन चार दिनमै बम प्रहारबाट नष्ट भएको जानकारी दिए। तीमध्ये सात वटा विद्यालय र दुई वटा स्वास्थ्य क्लिनिक रहेका थिए, जसलाई हजारौँ विस्थापित व्यक्तिहरूले आश्रयका रूपमा प्रयोग गरिरहेका थिए ।

उनीका अनुसार दक्षिणतर्फ जान उपलब्ध एक मात्र मार्ग राशिद रोड अत्यधिक भीडभाडयुक्त भएको छ । विस्थापित व्यक्तिहरू त्यही बाटो प्रयोग गर्न बाध्य छन् । तर मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय ९ओसिएचए० ले दक्षिणतर्फ सर्नका लागि लागत बढेर एक हजार छ सय डलरसम्म पुगेकाले धेरै मानिस त्यो खर्च बेहोर्न नसकी गाजाको उत्तरी भागमै बस्न बाध्य भएको जनाएको छ ।

डुजारिकले सुरक्षित र दिगो मानवीय पहुँचबिना विशेष गरी बालबालिकामा भोकमरी चर्किने चेतावनी दिए । उनले संयुक्त राष्ट्रसङ्घका साझेदारहरूलाई उद्धृत गर्दै गाजा सहरका एक तिहाइ कुपोषण उपचार केन्द्रहरू जबरजस्ती विस्थापन आदेशका कारण बन्द भएको पनि जानकारी दिए।