पत्रकारसँग भिडे ट्रम्प : सम्पत्तिबारे प्रश्न गर्दा भने ‘चुप लाग’
- ०१ अशोज २०८२
- १ मिनेटको पढाई
वासिङटन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्ट्रेलियाली पत्रकारसँग सम्पत्तिबारे प्रश्न गर्दा भड्किएका छन्। अस्ट्रेलियाली प्रसारण निगम (ABC) का पत्रकार जोन लियोन्सले जनवरीमा दोस्रो कार्यकाल सुरु गरेयता ट्रम्पले कति सम्पत्ति कमाए भन्ने प्रश्न गरेका थिए।
“मलाई थाहा छैन,” ट्रम्पले जवाफ दिँदै आफ्नो पारिवारिक व्यवसाय छोराछोरीले चलाइरहेको बताए। तर उनले पत्रकारलाई उल्टै अस्ट्रेलियालाई “चोट पुर्याइरहेको” आरोप लगाए। “अस्ट्रेलियाले मसँग राम्रो सम्बन्ध चाहन्छ, तर तपाईंले खराब वातावरण सिर्जना गर्नुभएको छ,” ट्रम्पले भने।
लियोन्सले थप प्रश्न सोध्न खोज्दा ट्रम्पले औंला ओठमा राख्दै ‘चुप लाग्नुहोस्’ भन्दै अर्को पत्रकारतर्फ ध्यान दिए। उनले अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग चाँडै भेट्ने र पत्रकारबारे कुरा गर्ने चेतावनीसमेत दिए।
पत्रकार लियोन्सले भने आफ्नो प्रश्न अनुसन्धानमा आधारित र विनम्र ढंगले सोधिएको दाबी गर्दै, “सही प्रश्न सोध्दा दुई देशबीच सम्बन्ध बिग्रन्छ भन्नु बेतुक हो,” प्रतिक्रिया जनाए।