२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

औपचारिक राजकीय भ्रमणका लागि बेलायतमा ट्रम्प दम्पति

औपचारिक राजकीय भ्रमणका लागि बेलायतमा ट्रम्प दम्पति

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो औपचारिक राजकीय भ्रमणका लागि मंगलबार राति बेलायत पुगेका छन्। यसपटकको भ्रमणलाई ऐतिहासिक मानिएको छ, किनभने ट्रम्प दुईपटक बेलायतको राजकीय भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्न पुगेका छन्।

भ्रमणका क्रममा शाही कार्यक्रम, व्यापार वार्ता र अन्तर्राष्ट्रिय राजनीतिको विषय प्राथमिकतामा रहने बताइएको छ। बकिङ्घम दरबारले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्प दम्पतिलाई राजा चाल्र्स र महारानी क्यामिलाले औपचारिक स्वागत गर्नेछन्। राजकीय स्वागत समारोहमा राजकुमार विलियम र क्याथरिनसहित वरिष्ठ शाही सदस्यहरू पनि सहभागी हुनेछन्।

ट्रम्प दम्पतिलाई दक्षिण–पूर्वी इंग्ल्यान्डको बर्कशायरस्थित विन्डसर फिल्डमा वेल्सका राजकुमार विलियम र राजकुमारी केटले औपचारिक स्वागत गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनीहरूले राजा चाल्र्स र महारानी क्यामिलासँग भेटघाट गर्नेछन्।

यसै क्रममा लन्डनको टावरबाट शाही सलामी दिइने र विन्डसर महलको पूर्वी लनमा विशेष कार्यक्रम आयोजना गरिने दरबारले जनाएको छ। ट्रम्पको यो भ्रमण सेप्टेम्बर १९ सम्म चल्नेछ।