जापानमा शतायु महिलाको संख्या उच्च, दीर्घायुका कारण आहार र जीवनशैली
- ०२ अशोज २०८२
- १ मिनेटको पढाई
टोकियो- जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिको संख्या हालसम्मकै उच्च भएको छ। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बरसम्म शतायु व्यक्तिको संख्या ९९,७६३ पुगेको छ, जसमा ८८ प्रतिशत महिला छन्।
स्वास्थ्यमन्त्री ताकामारो फुकोकाले ८७,७८४ महिला र ११,९७९ पुरुषलाई दीर्घजीवन प्राप्त गरेकोमा बधाई दिँदै समाजमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरेका छन्। हाल जापानकी सबैभन्दा वृद्ध महिला ११४ वर्षकी शिगेको कागावा र वृद्ध पुरुष १११ वर्षीय कोयोताका मिजुनो हुन्।
जापानमा लामो आयुको कारण आरोग्यवर्धक आहार, कम मोटोपना, नियमित व्यायाम र सक्रिय जीवनशैलीलाई मानिन्छ। माछा, सागपात बढी सेवन गर्ने तथा नुन र चिनी कम प्रयोग गर्ने बानीले हृदय रोग र क्यान्सरको जोखिम घटाउने अध्ययनहरूले देखाएका छन्। साथै ‘रेडिओ ताइसो’ जस्ता सामूहिक व्यायाम गतिविधि पनि जापानी जीवनशैलीको अङ्ग बनेका छन्।
सन् १९६३ मा जापान सरकारले शतायु सर्वेक्षण सुरु गर्दा त्यस्तो संख्या केवल १५३ थियो। १९८१ मा १,००० पुग्दा १९९८ मा १०,००० नाघ्यो। अहिले भने एक लाखको नजिक पुगेको छ।
तर, अभिलेखगत त्रुटिका कारण वास्तविक संख्या कम हुन सक्ने आशंका पनि छ। सन् २०१० को समीक्षा अनुसार सूचीकृत २,३०,००० भन्दा बढी शतायु व्यक्तिहरू वास्तवमा मृत फेला परेका थिए। कतिपय परिवारले निवृत्तिभरण लिन मृतकको विवरण नदर्ता गरेको पाइएको थियो।
जापानमा १५ सेप्टेम्बरमा मनाइने ज्येष्ठ नागरिक दिवसको पूर्वसन्ध्यामा तथ्याङ्क सार्वजनिक गरिएको हो। सो अवसरमा शतायु पुगेकालाई प्रधानमन्त्रीको बधाई पत्र र चाँदीको कप प्रदान गर्ने परम्परा कायम छ।