संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत गरेको छ : राष्ट्रपति पौडेल
- ०३ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले जन्माएका सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता बोकेको नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन्।
संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली नै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आधार भएको उल्लेख गरे। “संविधानले हामी सबैलाई एकताबद्ध भई राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रेरित गर्छ,” राष्ट्रपतिले भने।
उनले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रतर्फ उन्मुख हुने लक्ष्य लिएको स्मरण गराउँदै, सबै नागरिकलाई राज्यका सेवासुविधामा समान पहुँच र सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले संविधानको मर्म र भावना व्यवहारमा उतार्न प्रत्येक नागरिक मन, वचन र कर्मले इमान्दार र प्रभावकारी प्रयास गर्नुपर्ने आह्वान गरे। उनले जलस्रोत र ऊर्जाको सदुपयोग, सुशासन र बेथितिको अन्त्य गर्न सके नेपाल छिट्टै समुन्नत राष्ट्र बन्न सक्ने विश्वास पनि व्यक्त गरे।
“हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनासहितको बहुजाति, बहुभाषी र बहुसंस्कृतिलाई संविधानले समान संरक्षण दिएको छ,” भन्दै उनले आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच नआउने अपेक्षा व्यक्त गरे।
संविधान दिवसका अवसरमा राष्ट्रपतिले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ जीवन आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। साथै, लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान प्रकट गर्दै आम नागरिक र कार्यकर्ताको योगदानको उच्च प्रशंसा गरे।