लोकतन्त्र र संविधानको रक्षामा सबै शक्तिको एकता आवश्यक : अध्यक्ष प्रचण्ड
- ०३ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशले लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनकारी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन्।
उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै, संविधान र लोकतन्त्रको संरक्षणमार्फत राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको बताए।
भर्खरैको जेन–जी आन्दोलनलाई स्मरण गर्दै प्रचण्डले समयले संविधानको निरन्तरतासँगै विस्तार र परिमार्जनको माग गरेको बताए। उनले देशव्यापी पुनर्निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरे।
त्यसैगरी, भदौ २३ र २४ गते भएका घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरे।
“जेन–जी आन्दोलन लोकतन्त्रविरोधी होइन, बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीविरुद्धको आन्दोलन हो,” प्रचण्डले भने, “तर २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन। भदौ २३ को आन्दोलन वास्तविक जेन–जी आन्दोलन थियो।”