२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

संविधानमाथि ठूलो आक्रमण भएको छ : अध्यक्ष ओली

संविधानमाथि ठूलो आक्रमण भएको छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानमाथि ठूलो आक्रमण भएको दाबी गरेका छन्।

अध्यक्ष ओलीले हालैका घटनालाई स्मरण गर्दै भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालयदेखि नेताकार्यकर्ताको घरसमेत खरानी बनाइएको छ।”

गत साताको जेन–जी आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि त्यहाँ षड्यन्त्रकारी घुसपैठ भएको ओलीको आरोप छ। उनका अनुसार, त्यस क्रममा मच्चिएको हिंसाले युवाको ज्यान गएको र सरकारले प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको नभए पनि अज्ञात स्वचालित हतियार प्रयोग भएको विषय छानबिन हुनुपर्ने आवश्यकता छ। उनले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरे।

संविधान र सार्वभौमसत्तामाथि प्रहार भइरहेकाले सबै पुस्ताका नेपाली एकजुट हुनुपर्नेमा ओलीले जोड दिए। “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै यो अकल्पनीय संकटबाट देशलाई उठाउन र जोगाउन सक्छ,” उनले भने।