२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

सञ्चार स्वतन्त्रता र राजनीतिक दबाबबीच द्वन्द्व : ट्रम्पको आलोचना र किमेल विवादले चर्कायो बहस

सञ्चार स्वतन्त्रता र राजनीतिक दबाबबीच द्वन्द्व : ट्रम्पको आलोचना र किमेल विवादले चर्कायो बहस

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यममाथि पुनः कडा प्रहार गर्दै आफू र आफ्नो प्रशासनविरुद्ध ‘९७ प्रतिशत नकारात्मक समाचार’ प्रसारण गरिएको दाबी गरेका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले सकारात्मक घटनालाई समेत नकारात्मक रूपले प्रस्तुत गर्ने प्रवृत्तिलाई व्यक्तिगत रूपमा ‘अवैध’ जस्तो लाग्ने बताए।

यो विवाद हास्य कलाकार जिमी किमेलको कार्यक्रम अनिश्चितकालका लागि निलम्बन भएपछि थप तीव्र भएको छ। किमेलले दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कबारे दिएको टिप्पणीलाई लिएर अमेरिकी सञ्चार आयोग (एफसीसी)का आयुक्त ब्रेन्डन कारले प्रसारण गर्ने च्यानलहरूलाई जरिवाना वा लाइसेन्स खारेजसम्मको चेतावनी दिएका थिए। त्यसपछि एबीसीले तत्काल कार्यक्रम रोक्ने घोषणा गर्यो।

राष्ट्रपति ट्रम्पले कारको कदमको समर्थन गर्दै उनलाई ‘साहसी र राष्ट्रप्रेमी’ को उपाधि दिएका छन्। तर उनका पार्टीका नै प्रभावशाली नेता, टेक्सासका रिपब्लिकन सिनेटर टेड क्रूजले भने यसलाई प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपको खतरा भन्दै आलोचना गरेका छन्। उनले यसलाई ‘माफिया शैलीको धम्की’ को संज्ञा दिएका छन्।

यता, न्यूयोर्क टाइम्सविरुद्ध ट्रम्पले दायर गरेको १५ अर्ब डलरको मानहानी मुद्दा संघीय अदालतले कानुनी आधार नपुगेको भन्दै खारेज गरेको छ। अदालतले उजुरीलाई ‘राजनीतिक प्रेरित’ र ‘कानुनी रूपमा कमजोर’ ठहर गरेको हो।

यी घटनाक्रमले अमेरिकामा प्रेस स्वतन्त्रता र राजनीतिक हस्तक्षेपबीचको सन्तुलनबारे पुनः गहिरो बहस सुरु गराएको छ। एकातिर राष्ट्रपति ट्रम्प सञ्चारमाध्यमलाई आफ्नो विरोधी भनेर दोषारोपण गरिरहेका छन् भने अर्कोतिर स्वतन्त्र अभिव्यक्तिलाई सरकारी दबाबबाट जोगाउनुपर्ने आवाज पनि बलियो बनेको छ।