फिलाडेल्फियादेखि वासिङ्टनसम्म १६० माइल पदयात्रा सम्पन्न, लोकतन्त्र र जवाफदेहिताका लागि आह्वान
- ०५ अशोज २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- करिब दुई सय जनाले १४ दिनमा फिलाडेल्फियाबाट सुरु गरेको लोकतन्त्रको समर्थनमा गरिएको १६० माइल लामो पदयात्रा शुक्रबार वासिङ्टन डीसीमा पुगेर सम्पन्न भएको छ।
‘वि आर अमेरिका’ नामक समूहको नेतृत्वमा बालबालिकादेखि वृद्धसम्म सहभागी यात्रुहरू राजधानी आइपुग्दा समर्थक र कांग्रेस सदस्यहरूले आलिङ्गन र जयजयकारसहित स्वागत गरेका थिए। लामो यात्रापछि उनीहरू थकित देखिए पनि उत्साह उच्च थियो।
यस पदयात्राको उद्देश्य अमेरिकी समाजमा भइरहेका सामूहिक गोलीकाण्ड, डिस्ट्रिक्ट अफ कोलम्बियामाथि संघीय नियन्त्रण, साथै ट्रम्प प्रशासनसहित नेताहरूका विवादास्पद गतिविधिबारे जवाफदेही बनाउन सशक्त आन्दोलन निर्माण गर्नु थियो।
फिलाडेल्फियाबाट सुरु भएको यात्रा नेवार्क, विल्मिङ्टन र बाल्टिमोर हुँदै वासिङ्टन पुगेको हो। बाटोमा सहभागीहरूलाई चर्च र स्थानीय परिवारहरूले आश्रय दिएका थिए भने एक रात उनीहरूले बाहिरै शिविरमा बास बसेका थिए।
संस्थापक म्यागी बोहाराले यात्राकै क्रममा भेटिएका समुदायहरूले देखाएको ऐक्यबद्धता उल्लेख गर्दै भनिन्, “हामीले विश्वास गर्ने मूल्यमा अरू पनि हामीसँगै छन्, हामी एक्ला छैनौँ भन्ने प्रमाण यसले दिएको छ।”
८० वर्षीया डायने शॉ–कमिन्स आफ्ना छोरा टेड रेग्नडसँगै यात्रामा सहभागी भइन्। उनले भनिन्, “म आफ्ना नातिनातिनाहरू, छोराछोरी र सबै अमेरिकीहरूको उज्ज्वल भविष्यका लागि यहाँ छु।”
टेक्सासका प्रतिनिधि अल ग्रीनले सहभागीहरूलाई सम्बोधन गर्दै यस पदयात्रालाई सन् १९६५ को ‘ब्लडी सन्डे’ मार्चसँग तुलना गरे। उनले भने, “तपाईँहरूले १६० माइलको यात्रा पूरा गर्दै आज वासिङ्टनमा एडमन्ड पेटस ब्रिजको ऐतिहासिक क्षणलाई पुनः जिवन्त बनाइदिनुभयो।”
पदयात्राका सहभागीहरूले बालबालिकाले तयार पारेको अमेरिकी संविधानको प्रतिलिपि बोकेका थिए, जुन वासिङ्टनमा पुगेपछि सिनेटर क्रिस भ्यान होलेनलाई उपहार दिइयो।
संस्थापक एमजे ट्युनले भने, “संविधान बोकेर निर्वाचित प्रतिनिधिहरूलाई देशलाई आन्तरिक वा बाह्य खतराबाट जोगाउने शपथ सम्झाउनु हाम्रो उद्देश्य थियो। अहिंसात्मक र दीर्घकालीन आन्दोलनलाई टिकाइराख्न समुदायको भावना जागृत गर्नु नै हाम्रो अन्तिम लक्ष्य हो।”